अवैधरुपमा ल्याइएका दस लाख माछा जफत

विराटनगर  – भन्सार राजस्व छली अवैधरुपमा ल्याइएका करिब रु १० लाख मूल्य बराबरको सिध्रा माछा (सुकुटी) प्रहरीले जफत गरेको छ। छवटा बोरामा राखी ठेलामा आज बिहान ४ बजेतिर लुकाइछिपाइ ल्याइरहेको अवस्थामा विराटनगर बजार पश्चिम बखरीको बाटोमा प्रहरीले माछा जफत गरेको बखरी प्रहरी चौकीले जनाएको छ।

विराटनगरको स्थानीय बासिन्दा एवम् माछा व्यवसायी निलम सहनीद्वारा भारतबाट ल्याइएको बताइएको छ।

एक बोरामा १५० किलोग्राम सानो सिध्रा माछा रहेको बखरी प्रहरी चौकीका सहायक नायब निरीक्षक फिरोज चौधरीले बताए।

व्यवसायी सहनीले पुरानो मितिमा ३० बोरा सिध्रा माछाको भन्सार प्रज्ञापनपत्र देखाई ल्याएको र त्यो गलत भएकाले ट्र्याक्टरमा लोड गरी भन्सारमा पठाइएको प्रहरीबाट बुझिन आएको छ। -रासस