काठमाडौ – युरोपेली संघसम्बद्ध सदस्य राष्ट्रहरु, नर्वे,
स्वीटजरल्याण्ड तथा जापानसहितका मुलुकहरुले संविधानसभाको तीन महिने समयावधि थप
गरिएकोमा स्वागत गरेका छन् ।
संघका डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, बेलायतसहितका मुलुकले आइतबार
संयुक्त रुपमा जारी गरेको बिज्ञप्तीमा ‘नेपालमा सहमतीय राजनीति कायमैं रहेकोमा’
खुशी व्यक्त गरिएको छ । ‘नेपालका राजनीतिक दलहरुसामु प्रजातान्त्रिक, समावेशी
संविधान लेख्ने कार्य आगामी तीन महिना भित्र पुरा गर्ने अब नयाँ अवसर छ । हामी
उहाँहरुलाई पूर्व माओवादी लडाकुहरुको समायोजन तथा पुनःस्थापना सम्बन्धमा आपसमा भएका
सहमतिहरुलाई सफल निष्कर्षमा पुर्याउने निश्चित गर्न समेत आग्रह
गर्छौं,’बिज्ञप्तीमा उल्लेख छ ।
संविधानको टुंगो लाग्नासाथै यसले स्वतन्त्र र निष्पक्ष निर्वाचनको मार्ग प्रशस्त
गर्ने र नेपालमा दिगो शान्ति र समृद्धि निश्चित गर्ने विश्वास बिज्ञप्तीमा जनाइएको
छ । “नेपालका लामो समयदेखिको मित्रको रुपमा युरोपेली युनियन, नर्वे र
स्वीट्जरल्याण्डले शान्ति प्रक्रियाप्रति आफ्नो पूर्ण समर्थन रहेको दोहोर्याउँछ ।
नेपाली जनताका आकांक्षाहरु त्यतिबेला पुरा हुन सक्छन् जब जनप्रतिनिधिहरुले नयाँ
संविधान, शान्ति, स्थायीत्व र समृद्धि ल्याउने सहमति गर्नुहुनेछ’,बिज्ञप्तीमा
भनिएको छ ।
यस्तै, जापानले पनि थप गरिएको तीन महिनाको अवधीमा संविधान लेखनसहित शान्ती
प्रकृया टुङ्गयाउने पक्षमा सम्बद्ध राजनीतिक दलहरु लागीपर्नेमा विश्वा्स व्यक्त
गरेको छ । गणतन्त्र दिवसका अवसरमा एक बिज्ञप्ती जारी जापानी दुतावासले संविधानसभा
कार्यतालिका थप भएकोमा स्वागत जनाएको हो ।



