समयमा संविधान नलेखेको आक्रोशमा जनआन्दोलनका घाइतेले मुख्य राजनीतिक दल र ६ सय १ सभासदलाई घाँस उपहार

– महेश्वर चामलिङ राई, नागरिक

उदयपुर – समयमा संविधान नलेखेको आक्रोशमा जनआन्दोलनका घाइतेले मुख्य राजनीतिक दल र ६ सय १ सभासदलाई ‘घाँस’ उपहार दिएका छन्। तेस्रो गणतन्त्र दिवसका अवसरमा सदरमुकाम गाईघाटको लोकतान्त्रिक चोकमा आयोजित आमसभामा घाइतेहरुले एक मुठा घाँस उपहार दिएका हुन्।

लोकतान्त्रिक जनआन्दोलनका घाइते हिराप्रसाद ढकालको नेतृत्वमा गएको समूहले प्रमुख अथिति जिल्ला न्यायाधीश यज्ञराज भट्टमार्फत मञ्चमै गएर घाँस उपहार दिएको हो।

०६३ वैशाख ५ गते सेनाको आक्रमणबाट गम्भीर घाइते भएका नेविसंघ सदस्य ढकालले आमसभालाई पत्रकार महासंघका सहसचिव भोटराज राईले स्वागत मन्तब्य दिएलगत्तै माइक खोसेर भट्टलाई घाँस उपहार दिएका थिए।

‘सबै प्राणीमा भावना, चाहना र संवेग हुने गर्छ तर पशुमा लाज र घिन नहुने हुँदा अहिलेका नेता र सभासद पशुसमान हुन्,’ घाँस उपहार दिनुअघि उनले भने, ‘त्यसैले उहाँहरुलाई घाँस उपहार दिएर सांकेतिक विरोध जनाएको हुँ।’

उनले जनताको चाहना र भावनाअनुसार समयमा संविधान नबनाएको, शान्ति प्रक्रिया अघि नबढाएको र लाज, घिन पचाएर ब्यक्तिगत र दलगत स्वार्थमा लिप्त भएका नेता र सभासदहरु पशुभन्दा फरक नभएको आरोप लगाए।

०६३ वैशाख ५ मा आन्दोलन क्रममा ३५ जनाको नेपाली सेनाको टोलीले गाईघाट डिएम गेटमा धरपकड गर्दा दाहालको ढाड, कम्मर र आँखामा गम्भीर चोट लागेको थियो। उनीसँगै टंक दाहाल, अंगद पौडेल, खिलराज गुरागाईं, श्याम ढुंगाना, गीता रेग्मी र नजवुल खानलगायत घाइते भएका थिए।

आन्दोलनताका उदयपुरमा २६ जना मात्र घाइते भएकोमा विभिन्न ४ सय ३१ जनालाई घाइतेको प्रमाणपत्र दिएर आफूहरुजस्ता वास्तविक घाइतेको बेइज्जत गरेको आरोप पनि उनले लगाए।

दाहालले वास्तविक घाईतेले भन्दा आफ्ना मान्छे भएकाहरुलाई बढी राहत दिएको आरोप पनि लगाएका छन्। पटकपटकको प्रयासमा उपचार भएको र दुईपटकमा आफुले १३ हजारमात्र राहत पाएको उनले बताए। बरु अस्पतालको रिपोर्ट, आन्दोलनमा घाईते भएको फोटोहरु लुकाइदिएको आरोप उनले लगाए।

सुरक्षाकर्मी, कर्मचारी र राजनीतिकर्मीको पातलो सहभागिता रहेको दिवसमा घाइतेलाई अथिति आसनका लागि बोलाइएको थिएन।