भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले
स्थानीय निकायलाई लामो समयसम्म जनप्रतिनिधिबिहीन अवस्थामा राख्न नहुने बताएका छन् ।
भक्तपुर नगरपालिकाको आज नयाँ भवनको शिलान्यास गर्दै उहाँले स्थानीय निकाय
जनप्रतिनिधिबिहीन हुँदा विकास निर्माणका काम अघि बढ्न नसकेको र जनताले पनि सुविधा
पाउन नसकेको बताए ।
लामो समयसम्म स्थानीय निकाय जनप्रतिनिधिबिहीन हुँदा कर्मचारीलाई समेत काम गर्न
समस्या भएको बताउँदै उहाँले सरकारले स्थानीय निकायको निर्वाचन या स्थानीय निकायको
पुनःस्थापना गर्नु पर्ने माग गरे ।
जनप्रतिनिधि नभएको अवस्थामा कर्मचारीले आफ्नो जिम्मेवारी सवलरूपमा निर्वाह
गर्नुपर्ने बताए ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्रकुमार पौडेल,
पूर्वमेयर एवम् नेमकिपाको विदेश विभाग प्रमुख प्रेम सुवाललगायतले स्थानीय निकाय
लामो समयसम्म जनप्रतिनिधिविहीन राख्न नहुने धारणा व्यक्त गरे ।
भक्तपुरको व्यासीमा रहेको पर्यटक बसपार्कमा नगरपालिकाले आफ्नो नयाँ भवन निर्माण
गर्न लागेको हो ।
नगरपालिकाले करिब चार वर्षमा अन्दाजी रु १३ करोडको लागतमा नयाँ भवन निर्माण गर्न
लागेको नगरपालिकाका योजना प्रमुख ओमहरि थापाले बताए ।
करिब दुई हजार ५०० स्क्वायर मिटर क्षेत्रफलमा निर्माण हुने भवन चारतले रहने उनले
बताए । रासस



