माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिका चार सदस्यको अमेरिका भ्रमण रद्द

काठमाडौं – एकीकृत माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिका चार सदस्यले अमेरिका भ्रमण रद्द गरेका छन् ।

उनीहरू अमेरिकाको क्यालिफोर्नियास्थित ‘द सेन्टर फर सिभिल मिलिटरी रिलेसन, मोन्टेरे’ द्वारा आयोजित सेना-नागरिक सम्बन्धबारे सेमिनारमा भाग लिन बिहीबार दुई साताका लागि त्यसतर्फ जाने कार्यक्रम तय भएको थियो ।

विशेष समिति सदस्यहरू एमाले महासचिव ईश्वर पोखरेल, माओवादीका स्थायी समिति सदस्य तथा सैन्य इन्चार्ज वर्षमान पुन, कांग्रेस नेता रामशरण महत र मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाशप्रसाद गुप्ताको अमेरिका भ्रमण तय भएको थियो । एमालेका केही सभासदले प्रधानमन्त्री तथा समिति अध्यक्ष झलनाथ खनाललाई मंगलबार भेटी शान्ति प्रक्रियाबारे महत्त्वपूर्ण काम गर्नुपर्ने बेला समिति सदस्यहरू लामो समयको भ्रमण जानु उचित नभएको भन्दै रोक्न आग्रहसमेत गरेका थिए ।

सभामुख सुवास नेम्वाङले पनि बुधबार कान्तिपुरमा भ्रमणसम्बन्धी समाचार प्रकाशित भएपछि समायोजन र पुनःस्थापनाबारे विधिवत् निर्णय लिने संस्थाका सदस्यहरू लामो भ्रमणमा जाने कुरा अनुचित भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । धेरैतिरबाट भ्रमणबारे टिप्पणी भएपछि प्रधानमन्त्री खनालले समिति सदस्यहरूलाई भ्रमण रोक्न आग्रह गरेको स्रोतले बतायो ।

एमाले महासचिव पोखरेलले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन विशेष समितिमार्फत महत्त्वपूर्ण निर्णय लिने बेलामा लामो भ्रमणमा जानु अनुपयुक्त भएकाले नजाने निर्णय गरेको बताए । ‘कार्यक्रम पहिले नै तय भएको थियो । शान्ति प्रक्रियामा अनुभव आदानप्रदान हुन्छ भनेर जाने स्वीकृति दिएको थिएँ । तर अहिले विशेष परिस्थिति छ, थोरै समयमा समितिमार्फत शान्ति प्रक्रियाबारे धेरै काम गर्नु छ । त्यसैले म जान्नँ,’ उनले भने ।

कांग्रेस नेता महतले अहिलेको परिस्थितिमा भ्रमणमा जानु अनुपयुक्त भएकाले सम्बन्धित संस्थालाई नजाने जानकारी गराइसकेको बताए । ‘पहिले बेग्लै परिस्थितिमा जाने स्वीकृति दिइएको हो । तर शान्ति प्रक्रियाका महत्त्वपूर्ण काम गर्नुपर्ने अहिलेको बेलामा त्यहाँ जानु उचित लागेन,’ उनले भने । माओवादी नेता पुनले पनि नजाने निर्णय लिएको बताए ।

‘समायोजन र पुनःस्थानाको कार्य अघि बढाउनुपर्ने अवस्था छ, त्यसैले नजाने निर्णयमा पुगियो । सबै साथीहरूबीच सल्लाह गरेर सम्बन्धित संस्थालाई कोही पनि नजाने औपचारिक जानकारी दिन्छौं,’ उनले भने । हालै मात्र मधेसी जनअधिकार फोरम विभाजन गरी फोरम (गणतान्त्रिक) स्थापना गरेका अर्का समिति सदस्य जयप्रकाशप्रसाद गुप्ताले पहिलेदेखि नै नजाने मनस्थितिमा रहेको बताए ।  

– विशेष समितिको बैठक बिहीबार बेलुकी बस्ने तय भएको छ । प्रमुख तीन दलका नेताहरू पार्टीको आन्तरिक बैठकमा व्यस्त भएकाले बुधबार बस्ने भनिएको समिति बैठक एक दिन सारिएको हो ।

समितिको बैठकले लडाकु समायोजन र पुनःस्थापनाको समयतालिका निर्धारण गर्ने सदस्य पुनले बताए । माओवादीले शान्ति प्रक्रियासम्बन्धी पूर्वप्रतिबद्धताअनुरूप बुधबारबाटै नेताहरूको दोहोरो सुरक्षा प्रणालीको अन्त्य गर्ने निर्णय गरेको छ ।