– दिलबहादुर छत्याल
धनगढी – कैलालीमा एमालेका दुई पक्षबीच विवाद बढेर पार्टी कार्यालय परिसरमै झडप भएको छ। झडपका क्रममा कार्यालयको भवनको सिसासमेत तोडफोड भएको छ। १ जना समान्य घाइते भएका छन्। युवा सङ्घ नेपालमा केपी ओली पक्षधर युवाले छुट्टै भेला गरेर समानान्तर कमिटी गठन गरेपछि विवाद चर्केको हो।
ओली पक्षधर मानिने युवाहरुको एक भेलाले शनिबार प्रेम महराको अध्यक्षतामा युवा सङ्घ नेपालको आठौं अधिवेशन आयोजक कमिटी गठन गरेको थियो। आइतबार आयोजक कमिटी सार्वजनिक गर्न पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलन संस्थापन पक्षले बिथोलेपछि झडप भएको थियो।
वैशाख ३१ गते युवा सङ्घ नेपाल कैलालीको सचिवालयको बैठकले प्रेम महरालगायत् समितिका ६ जना सदस्यलाई निष्काशन गरेको थिए। निष्काशन भएका सदस्यको अगुवाईमा छुट्टै भेलाद्वारा नयाँ कमिटी गठन भएको हो।
पूर्वाग्रही ढङ्गले मलगायत् ६ जनालाई सचिवालयको बैठकमात्र बसेर निकाल्यो। ६ जना निकालेपछि बाँकी रहेका २९ मध्ये बहुमत १७ जना सदस्यको उपस्थितिमा हामीले नयाँ कमिटी गठन गरेका हौं- शनिafर गठन गरिएको नयाँ कमिटीका अध्यक्ष महराले बताए। युवा सङ्घ नेपालका केन्द्रीय सचिव सूर्य ढकाल र केन्द्रीय कोषाध्यक्ष निरुपालको उपस्थितिमा जिल्लाभरका १ सय ६९ जना युवाको भेलाले विधानसम्मत ढङ्गले नयाँ कमिटी गठन गरेको उनले दाबी गरे।
संस्थापन पक्षका युवा सङ्घ नेपाल कैलालीका अध्यक्ष ललित साउदले विधान विपरित केही युवाले समानान्तर कमिटी बनाएको प्रतिक्रिया दिएका छन्। तर यो कमिटीले अधिकारिता नपाउने उनको दाबी छ।



