चर्चित सुडान घोटाला प्रकरणको मुद्दा अख्तियारले दर्ता गर्न सकेन

काठमाडौ  – चर्चित सुडान घोटाला प्रकरणको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार पनि दर्ता गर्न सकेन । सोमबार बिशेष अदालतमा दर्ता गर्ने तयारी गरिएपनि अन्तिममा नभ्याइएको जनाएको छ ।


अख्तियारले पूर्व प्रहरी महानिरीक्षकहरु ओमबिक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीको बिरुद्धमा मुद्दा दर्ता गर्ने तयारी गरेको थियो ।

उक्त मुद्दा अदालतमा दर्ता गर्ने भनेपछि दिउँसोदेखि नै सञ्चारकर्मी तथा अन्य रमितेहरु पनि बिशेष अदालत पुगेको थियफ । आयोग स्रोतले मुद्दा दायरका निम्ति अभियोग पत्र बनाउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सोमबार दर्ता गरिने जनाएको थियो ।

अन्तर्राष्ट्रिस्तरमा नेपालकै बेइज्जत हुने गरी भएको यो घोटालाको झन्डै एक वर्षभन्दा बढी समयदेखि अनुसन्धान भइरहेको थियो । आयोगले उक्त घोटाला प्रकरणका कति जनाविरुद्ध मुद्दा दायर गर्ने ? भन्ने सम्बन्धमा आइतबार दिनभरि बन्द कोठामा छलफल गरेको थियो ।

चारभन्दा बढी सूची बनाएको आयोगले आइतबार साँझ मुख्य रूपले दोषीहरूलाई मात्रै विपक्षी बनाएर अदालतमा मुद्दा लैजाने टुंगोमा पुगेको स्रोतले बताएको थियो । उक्त सूची मात्रै लैजाँदा लेनदेनमा संलग्न केही बहालवाला प्रहरी अधिकृतहरूसमेत छुट्ने दाबी अनुसन्धानमा संलग्न अधिकृतहरूको रहेको छ ।