सरकारले नयाँ बजेट ल्याउने विषयमा दलहरुसंगको परामर्शलाई निरन्तरता

काठमाडौ – सरकारले नयाँ बजेट ल्याउने विषयमा दलहरुसंगको परामर्शलाई  निरन्तरता दिएको छ । उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले मंगलबार प्रमुख प्रतिपक्षी कांग्रेसंग बजेटका विषयमा छलफल गरेका छन् ।

राजनीतिक सहमति भए नयाँ सरकार आउन सक्ने सम्भावनाकाबीच सरकारले बजेटको तयारी सुरु गरेको हो । प्रधानमन्त्री झलनाथ खनालले सहमति जुटे राजीनामा दिने बताइरहेको र सहमतिको कुनै यकिन खाका नआइसकेकोले बजेटबारे अन्यौल बढेको छ ।

कोइराला निवास महाराजगंज पुगेका अर्थमन्त्री अधिकारीले नयाँ बजेटका लागि सहयोग गर्न कोइरालालाई आग्रह गरेका थिए । असार मसान्त भित्रमा बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । सरकारले बैशाखमै बजेट ल्याउन तयारी गर्दा कांग्रेसको बिरोधका कारण हुन सकेको थिएन ।

गतवर्ष बजेट पूर्व तात्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा गरेपछि अन्यौल भएको थियो । नेपालको काम चलाउ सरकारले बजेट ल्याएपनि माओवादी अवरोधका कारण मसिंर ४ गतेसमम पनि संसदले पास गर्न नसकेपछि अध्यादेश मार्फत बजेट जारी भएको थियो ।

अर्थमन्त्री अधिकारीले वर्तमान सरकारले नै बजेट ल्याउने दावी गर्दै आएका छन् । उनले असारको पहिलो सातादेखि नै पि्र बजेट सुरु गर्नुपर्ने भएकाले छलफल थालिएको बताए । कांग्रेस सभापति कोइरालाले सबै दलसंग सल्लाह गरेर मात्र बजेटको तयारी गर्न अर्थमन्त्रीलाई सुझाए ।