काठमाडौ – माओवादी लडाकुको रेखदेख, समायोजन र पुनःस्थापनासम्बन्धी विशेष समितिले मंगलबार भदौ १० गते सम्ममा समायोजनमा जाने र पुनस्थापनामा जाने लडाकुको रिग्रुपिङ् गरिसक्ने कार्यतालिका बनाएको छ ।
सोमबार बिशेष समितिले असार ५ गतेसम्म समायोजनको मोडालिटी, संख्या, पद, मापदण्ड तथा स्वैच्छिक अवकाश र पुनःस्थापनाको प्याकेज टुंगो लगाउने निर्णय गरेको थियो । समितिको सोमबारको बैठकले मोडालिटी र प्याकेज टुंगो लगाएर असार १३ गतेबाट समायोजन, पुनःस्थापना र स्वैच्छिक अवकाशमा जाने लडाकुको वर्गीकरण थाल्ने निर्णयसमेत गरेको थियो ।
त्यभन्दा अघि बढेर मंगलबारको बैठकले चार वटा सर्वेक्षण टोली पठाउने उक्त टोलीले समायोजनमा जाने र पुनस्थापनामा जाने छुट्याएपछि भदौ १० गते सम्ममा चार वटा शिविरमा रिग्रुपिङ् गरेर राख्ने सम्बन्धमा सहमति भएको समितिका सदस्य जेपी गुप्ताले संवाददाताहरुलाई बताए । त्यस पछि माओवादी लडाकुको हतियार राज्यलाई बुझाइने छ ।



