काठमाडौं – सूचना तथा सञ्चारमन्त्री अग्निप्रसाद सापकोटाले अदालतको
अवहेलना गरेको भन्दै पत्रकार कनकमणि दीक्षितविरुद्ध शुक्रबार सर्वोच्च अदालतमा
मुद्धा दायर गरेका छन् ।
सर्वोच्च अदालतमा आफ्नो मुद्धा विचाराधिन रहेकोबेला त्यसलाई प्रभाव पार्नेगरी
पत्रकार दीक्षितले केही दिनअघि एक राष्ट्रिय दैनिकमा लेख लेखेको भन्दै मन्त्री
सापकोटाले मुद्धा दायर गरेका हुन् ।
मन्त्री सापकोटाका तर्फबाट अधिवक्ता मुरारी सापकोटाले मुद्धा दर्ता गरेका हुन् ।
निवेदकले पत्रकार दीक्षितलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुनुपर्ने
जिकिर गरेका छन् ।
हिमाल खबरपत्रिका आबद्ध पत्रकार दीक्षितसहितका केही अधिकारकर्मीले हत्या अभियोग
लागेका सापकोटालाई मन्त्री बनाएको भन्दै पद खारेजीको मागसहित सर्वोच्चमा रिट दायर
गरेका थिए । रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको थियो ।



