माओवादी लडाकुलाई नेपाली सेनामा सामुहिक समायोजन गर्दा शान्ति सुरक्षामा जटिलता थपिने मसालका मोहनबिक्रम सिंहको भनाई

चितवन  –  मोहनबिक्रम सिंह, नेकपा मसालका महामन्त्रीले माओवादी लडाकुलाई
नेपाली सेनामा सामुहिक समायोजन गर्दा शान्ति सुरक्षामा जटिलता थपिने बताएका छन् ।

कम्युनिष्ट राजनीतिमा ६ दशक लामो समयदेखि सक्रिय बनेका अर्ध भूमिगत नेता समेत
रहेका उनले माओवादी लडाकुको बैधानिक ब्यबस्थापन भनेको नै उनीहरुलाई पुर्नस्थापनामा
जानु बाहेक बिकल्प नभएको दाबी गरे । कुनै एउटा पार्टीका लडाकु सेनामा समुहगत प्रबेश
गराउँदा अन्य समुहले त्यस्तै प्रकारका माग तेर्साउँछन्, भरतपुरमा आज आयोजित बिशेष
पत्रकार भेलामा उनले भने,’जस्का कारण राष्ट्रिय सुरक्षामा भांडभैलो र उपद्रो
मच्चिन्छ ।’ अन्य जातजाति, क्षेत्रीय संगठन र समूहले तयार गरेका युबाहरुले
माओवादीका झैं सेनामा जान पाउनुपर्ने माग तेर्साउने खतरा बढेको उनले बताए । अहिले
लडाकु समायोजनको काम चल्दै गर्दा मधेशबाट १० हजार युबालाई भर्ति गर्नुपर्ने माग
उठेको छ, भोलि अन्य यस्ता दर्जनौं समुह जन्मिने संभावना बढेर गएकोले माओबादी लडाकु
सेनामा सामुहिक प्रबेश गर्न नहुने उनले धारणा राखे ।

माओावादी शशस्त्र द्धन्द्धका बेला भएका अपराधका घटना छानबिन हुनुपर्ने माग गर्दे
उनले भने,’त्यतिबेलाका अपराधीलाई उन्मुक्ति दिंदा जनतामा सुरक्षाको अनुभुति र
न्यायको सिद्धान्त लागु भएको मानिंदैन ।’ दण्डहीनतालाई अन्त्य गर्न जुनसुकै तहमा
बसेका दोषी ब्यक्तिलाई कानुनको कठघरामा ल्याउनुपर्ने उनको जोड थियो ।