देउराली, गोरखा – एकीकृत नेकपा माओवादीका उपाध्यक्ष बाबुराम भट्टराईले राष्ट्रिय
संयुक्त सरकारको बाटो खुल्ला गर्न प्रधानमन्त्री झलनाथ खनालले तत्काल राजीनामा
दिनुपर्ने बताएका छन् ।
गृह जिल्ला गोरखाको देउराली गाविसलाई शनिबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा
गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराईले प्रधानमन्त्रीको राजीनामा नआएसम्म
संयुक्त सरकार बन्ने वतावरण नहुने बताए । ‘राष्ट्रिय सरकारका लागि प्रधानमन्त्रीले
राजीनामा गरेर मार्ग प्रस्तुत गर्ने भनिएको पाँच बुदे सहमतिमा उहाँ आफैंले
हस्ताक्षर गर्नु भएको छ’ भट्टराईले भने, ‘राजीनामा नदिएपछि कसरी मार्ग प्रसस्त
हुन्छ ?’
प्रधानमन्त्रीको राजीनामा नआएसम्म बिधिसम्मत तरिकाले संयुक्त सरकार निर्माणको
प्रक्रिया सुरु गर्न नमिल्ने भट्टराईले बताए । एक/दुई दिन भित्रमै प्रधानमन्त्रीले
राजीनामा दिएर ढोका खुल्ला गर्ने हो भने सहमतिको सरकार निर्माणका लागि कुनै विवाद
नरहेको उनको दावी थियो ।
‘जेठ १४ गते गरिएको सहमतिअनुसार शान्ति प्रक्रिया र संविधान निर्माण अगाडि
बढिसकेका छन्,’ भट्टराईले भने, ‘शान्ति र संविधानको प्रक्रिया अगाडि बढाउनका लागि
अब प्रधानमन्त्रीको राजीनामामा अड्किएको छ ।’
माओवादीले नेतृत्व गर्ने भनी दलहरुबीच सहमति जुटेको अवस्थामा पार्टीले एक
घण्टाभित्र सर्वसम्मतले ब्यक्तिको बारेमा निर्णय गर्ने उनले बताए ।



