पत्रकार उमा सिंहको हत्याका आरोपीलाई जन्मकैदको सजाय

जनकपुरधाम  – पत्रकार उमा सिंहको हत्याका आरोपी ललिता सिंह र नेमलाल
पासवानलाई जन्मकैदको सजाय दिइएको छ ।

धनुषा जिल्ला अदालतद्वारा कर्तव्य ज्यान मुद्दामा दुवैलाई कसुर ठहर गरी उक्त
फैसला गरिएको हो । हत्याका अन्य आरोपीमध्ये श्रवण यादव, अभिषेक सिंह र विमलेश झाले
सफाइ पाएका छन् ।

वि.स. २०६५ पुस २७ गते पत्रकार सिंहलाई हतियारधारी समूहले धारिलो हतियार प्रहार
गरी हत्या गरेका थिए ।

हत्याको जिम्मेवारी लिने स्वामिजी यादव भनिने उमेश यादव फरार रहेका छन् ।
अदालतले फरार रहेका आरोपीको हकमा अंश रोक्का गरी तीन वर्ष पर्खिने आदेशसमेत दिएको छ

यसैबीच, सिंहका हत्याका आरोपीमध्ये सफाइ पाएका विरुद्ध पुनरावेदन गर्ने तयारी
भइरहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । सरकारी वकिल सत्यनारायण यादवले
अदालतको फैसलाको कागजात पाएपछि पुनरावेदन गरिने जानकारी दिए ।

रासस