विराटनगर – पत्रकार खिलानाथ ढकालमाथि आक्रमणका मुख्य नाइके पर्शु बस्नेत सहितको सहभागितामा युथफोर्सले गर्न लागेको प्रतिकारसभालाई ध्यानमा राख्दै जिल्ला प्रशासनले बिराटनगर बजार क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ।
जिल्ला सुरक्षा परिषदको बैठकले सो क्षेत्रमा भेला हुन, सभा तथा जुलुस निकाल्न निषेध गरेको छ।
जिल्ला प्रशासन कार्यालय मोरङले उत्तरमा कञ्जनबारीदेखि दक्षिणमा रानीसम्मको क्षेत्र तथा पूर्वमा हाटखोलादेखि पश्चिममा केशलियासम्म बीचको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो। भोलि बिहान ८ देखि साँझ ६ बजेसम्म उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो।
दर्जनौं अपराध घटनाका मास्टर माइन्ड बस्नेत नागरिककर्मी ढकाललाई आक्रमणको मुख्य योजनाकार भएकोमा पत्रकार महासंघ मोरङले किटानी जाहेरी दिएपछि युथफोर्सले त्यसको प्रतिकारमा सभा गर्ने लागेको थियो। फौजदारी मुद्दा लागेका बस्नेत सभाको तयारीका लागि आजै विमान चढेर बिराटनगर ओर्लिएका छन्। सुरक्षाकर्मीको बाक्लो उपस्थिति माझ खुलेआम हिँडडुल गरे पनि बस्नेतलाई प्रहरीले पक्राउ गरेको छैन। प्रधानमन्त्रीको दल एमालेको युवा दास्ताका मोरङ अध्यक्ष बस्नेतलाई राजनीतिक संरक्षण दिएको भन्दै सरकारविरुद्ध पत्रकार महासंघले देशव्यापी आन्दोलन गरिरहेको छ।
– नागरिक