२ जेठ, काठमाडौँ – नेकपा एमालेनिकट युवासंघका अध्यक्ष महेश बस्नेत सुनसरीको इटहरीमा पक्राउ परेसँगै राजधानीमा पनि युवासंघ तथा अनेरास्ववियुका कार्यकर्ताहरूले प्रदर्शन थालेका छन् ।
युवासंघका अध्यक्ष बस्नेतलाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न क्याम्पसअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । राजधानीको त्रिचन्द्र, आरआर, शंकरदेव क्याम्पसअगाडि अहिले विद्यार्थीहरूले प्रदर्शन गरिरहेका छन् । अहिले शंकरदेव क्याम्पसअगाडि विद्यार्थी र प्रहरीबीच झडप भइरहेको छ । झडपमा दर्जनौ प्रदर्शनकारी र प्रहरीहरू घाइते भएका छन् ।
प्रदर्शनकारीले शंकरदेव क्याम्पसका दर्जन बढी कर्मचारीहरूमाथि पनि कुटपिट गरेका छन् । यस्तै प्रदर्शनको समाचार संकलनका लागि त्यहाँ पुगेका सञ्चारकर्मीहरूमाथि पनि प्रदर्शनकारीहरूले आक्रमण गरेका छन् । प्रदर्शनकारीको आक्रमणबाट रोयटर्सका फोटो पत्रकार नभेष चित्रकार घाइते भएका छन् । प्रदर्शनकारीले पत्रकार चित्रकारको क्यामरा पनि ढुंगाले हानेर फुटाइ दिएका छन् ।
शंकरदेव क्याम्पस क्षेत्रमा अहिले विद्यार्थीहरूले सडकमा टायर बालेर सडकमा अवरोध पुर्याइरहेका छन् । विद्यार्थीहरूको आन्दोलनलाई नियन्त्रणमा लिनका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ ।
विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि आक्रमण गरेको आरोप लागेका युवा संघ मोरङका उपाध्यक्ष पर्शुराम बस्नेत आफूसँगै रहेको भन्दै पक्राउ गर्न सरकारलाई सार्वजनिक रूपमा चुनौती दिँदै आएका युवासंघ नेपालका केन्द्रीय अध्यक्ष महेश बस्नेतलाई प्रहरीले पक्राउ गरेसँगै एमाले निकट युवासंघ र अनेरास्ववियुका कार्यकर्ताहरू आन्दोलित भएका हुन् । उनीहरूले तत्काल महेश बस्नेतलाई रिहा गर्न माग गर्दै आन्दोलन थालेको जनाएका छन्।