इन्टरनेट सेवा निकै सुस्त भएपछि नेपाल टेलिकमले ब्यान्डविथ दोब्बर पार्ने

इन्टरनेट सेवा निकै सुस्त भएपछि नेपाल टेलिकमले ब्यान्डविथ दोब्बर पार्ने भएको छ। एडिएसएल, जिपिआरएस सेवा केही समययता ज्यादै सुस्त भएपछि टेलिकमले ब्यान्डविथ दोब्बर पार्ने निर्णय गरेको हो।

                      टेलिकमले यसै साताभित्र आफ्नो इन्टरनेटको ब्यान्डविथलाई चार गिगाबाइट प्रति सेकेन्ड बनाउने सम्झौता गरेको छ। भारतीय कम्पनीसँग यही साताभित्र ब्यान्डविथ बढाउने सम्झौता भइसकेको टेलिकम प्रवक्ता सुरेन्द्रप्रसाद थिकेले बताए।

                      पछिल्लो समयमा टेलिकमको इन्टरनेट सुस्त भएको, कनेक्सनमा समस्या देखिएपछि त्यसलाई सुधार्न बढी ब्यान्डविथ लिने सम्झौता टेलिकमले गरेको हो। ब्यान्डविथ बढी हुँदा इन्टरनेटको स्पिड बढी हुन्छ भने यो कम भयो भने इन्टरनेट सुस्त हुन्छ। एडिएसएल, जिपिआरएस, सिडिएमए र थ्रिजी डाटाकार्डबाट इन्टरनेट सेवा दिइरहेकोमा सबै सेवाको स्पिड अहिलेभन्दा बढ्ने दाबी टेलिकमको हो।

                     अहिले 192 किलोबाइट प्रतिसेकेन्ड स्पिडको एडिएसएल चलाउने ग्राहकले 3/4 किलोबाइटभन्दा बढी पाउन नसकेको गुनासो गरिरहेका छन्।

                     स्रोतका अनुसार भारतको दुई प्रमुख ब्यान्डविथ कम्पनीसँग यसैसाता टेलिकमले सम्झौता गरिसकेको छ।