काठमाडौंमा हुने यौनजन्य क्रियाकलाप नियन्त्रणका लागि बनाइएको आचारसंहिता महिना दिन बित्दा पनि कार्यान्वयन हुन सकेन

– जितेन्द्र साह

काठमाडौं – राजधानी काठमाडौंको मुख्य पर्यटक बजार ठमेल र दरबारमार्गमा हुने
यौनजन्य क्रियाकलाप नियन्त्रणका लागि बनाइएको आचारसंहिता महिना दिन बित्दा पनि
कार्यान्वयन हुन सकेको छैन ।

जिल्ला प्रशासन कार्यालयबाट पारित नगरिएकाले कार्यान्वयन हुन नसकेको हो ।
आचारसंहिताले मसाज पार्लरको आडमा हुने यौन व्यवसाय र ग्राहक ठगी नियन्त्रण हुने
सरोकारवालाले बताएका छन् ।

संहितामा मसाज सञ्चालनका लागि पारदर्शी सिसा भएको खुल्ला कोठा, उमेर पुगेका
प्रशिक्षित कर्मचारी र आवश्यक सबै गुणस्तरीय सामग्री हुनुपर्ने उल्लेख छ ।
ठमेलस्थित वडा कार्यालयको सचिवको कार्यकक्षमा सरोकारवाला सबैको दर्जनौं पटकको
बैठकपछि १० पृष्ठको आचारसंहिता तयार भएको हो ।

यसको अनुगमनका लागि ठमेल पर्यटन विकास परिषद्को अध्यक्ष संयोजक रहेको एक अनुगमन
समिति गठन गरिएको छ । यस समितिमा ठमेल र दरबारमार्गस्थित प्रहरी प्रभागका
प्रमुखहरू, सामुदायिक प्रहरी प्रमुख, ठमेलका चारवटै वडा कार्यालयका सचिव, मसाज
व्यवसायी संघको अध्यक्ष र स्थानीयवासी सदस्य छन् ।

‘मस्यौदा तयार छ, कार्यान्वयन गर्न मात्र बाँकी छ,’ परिषद्का अध्यक्ष
तेजेन्द्रनाथ श्रेष्ठले शनिबार कान्तिपुरसँग भने, ‘बन्द, हड्ताल र पारित गराउनु
पर्ने निकाय काठमाडौंको प्रमुख जिल्ला अधिकारीसँग समय नमिलेर ढिला भएको हो ।’
ठमेलमा आधिकारिक रूपले सञ्चालित ७५ वटै मसाज पार्लर र स्पाका प्रतिनिधिको
उपस्थितिमा सर्वसम्मतिले उक्त मस्यौदा पारित भएको हो ।

ठमेलस्थित वडा कार्यालयहरूले गत पुष ४ देखि लागू गरेको नयाँ मसाज केन्द्रको
दर्ता र नवीकरणलाई रोक्का अझै फुकुवा गरेको छैन । ‘आन्तरिक समस्याले यो आचारसंहिता
अड्केको हो,’ ठमेल वडा कार्यालयका सचिव सुमन अधिकारीले भने, ‘अब यसको व्यवहारमा
लागू हुने गरी कार्यान्वयन हुन्छ ।’

अधिकारीका अनुसार यो आचारसंहिताअनुरूप मसाज खोल्ने र चलाउनेलाई मात्र आउँदो असार
२० देखि दर्ता र नवीकरण गरिने छ । लागत अनुरूप व्यवसायीहरूले न्यूनतम ३ हजारदेखि ७
हजार रुपैयाँसम्म शुल्कबापत महानगरपालिकालाई तिर्नुपर्छ । एक अनुमान अनुसार ठमेलमा
ठमेलमा न्यूनतम १ लाख रुपैयाँदेखि अधिकतम ५० लाख रुपैयाँसम्म लगानी भएका मसाज र
स्पाहरू छन् ।

स्थानीयवासीहरूका अनुसार मसाज भएको क्षेत्रमा हो-हल्ला र तानातान कम भए पनि
ग्राहकको स्तर र हैसियत हेरेर मौन रूपमा मसाजमा यौन व्यवसाय चलैकै छ ।
‘आचारसंहितालाई कागतमा होइन, व्यवहारमै लागू गराउनुपर्छ, अनि मात्र मसाजको नाउँमा
चल्ने कोठीहरू बन्द हुन्छन्,’ स्थानीय युवा रमेश महर्जनले भने । उनले भने, ‘विभिन्न
सुरक्षा निकायका लक्का जवान, चालक र सरकारी कर्मचारी बढी हुन्छन् ।’ मसाजको अर्थ
समेत नबुझेका राजधानी वरिपरिका जिल्लाबाट आएका अनपढ र गाउँले युवतीलाई राखेर यो
व्यवसाय चलाइने हुनाले सञ्चालक/सञ्चालिकाको नियत प्रस्टै हुने उनले बताए ।

लैनचौर प्रहरी प्रभागका प्रमुख शिवबहादुर सिंहले व्यवसायीले आचारसंहिता पालना
गर्नुको विकल्प नरहेको बताए । राम्रा छवि भएका प्रहरी राखेर गठन भएको छुट्टै टोलीले
दैनिक अनुगमन गरिरहेको उनले बताए । ‘स्थानीयले गुनासो गर्नेबित्तिकै प्रहरी टोली
परिचालन हुने गर्छ,’ उनले भने, ‘धेरै हदसम्म उनीहरू नियन्त्रणमा छन् ।’

दरबारमार्ग प्रहरी प्रभाग प्रमुख कृष्णप्रसाद कोइरालाले स्थानीयको गुनासोअनुरूप
मसाजको धन्धाले गति लिने दिउँसो १२/१ बजेदेखि साँझसम्म तीन/चार पटक आफ्नो टोलीले
निरीक्षण गरिरहेको बताए । ‘जति पटक पनि प्रहरी टोली पुग्दा भित्र मसाज भएको
भेटिन्न, युवती र ग्राहक गफ गरेर बसेको भेटिन्छ,’ उनले भने, ‘सुझाव, चेतावनी दिनु र
सम्झाईबुझाई गर्नुको विकल्प छैन ।’