कांग्रेस राजनीतिक सहमति नभएसम्म बजेट ल्याउन नदिने

भक्तपुर – नेपाली कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक सहमति नभएसम्म बजेट ल्याउन नदिइने बताएका छन्। कांग्रेस क्षेत्र नं. २ ले आयोजना गरेको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री सिंहले कांग्रेस नियमित बजेट ल्याउन बाधक नबन्ने तर वर्तमान सरकारले कांग्रेसलगायत दलहरुसँग छलफल गरी सहमति गरेरमात्र बजेट ल्याउनुपर्ने बताए।

उनले कामचलाउ सरकारले जथाभाबी निर्णय गर्न नपाउने बताउँदै सहमतिको पालना नभए कांग्रेस शान्तिपूर्ण आन्दोलनमा जानेसमेत चेतावनी दिए। महामन्त्री सिंहले सेना समायोजन विशेष समितिमा बस्ने, निर्णय गर्ने तर निर्णयमा हस्ताक्षर गर्न नमान्ने एमाओवादी चरित्रले शान्ति प्रक्रियामाथि शङ्का उत्पन्न गरेको बताए।

पत्रकार आक्रमणमा संग्लन जोसुकै भए पनि दोषीलाई कारबाही हुनुपर्नेमा उनले जोड दिए। क्षेत्र नं. २ का सभापति रामेश्वर ढुङ्गेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी जिल्ला सभापति गणेशमान चक्रधर, पूर्वसांसद लेखनाथ न्यौपाने, पूर्वजिल्ला सभापति महेश श्रेष्ठ, १ नं. नगर सभापति रवीन्द्र प्रधान, २ नं. नगर सभापति अष्टकुमार कवेलगायतले प्रमुख तीन दलबीच भएको पाँचबुँदे सहमतिको पालना गर्दै कांग्रेसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरी शान्ति प्रक्रिया र संविधान निर्माणको कार्यलाई टुङ्गोमा पुर्‍याउनुपर्ने बताए।
– रासस