राष्ट्रपति प्रत्यक्ष र प्रधानमन्त्री संसदबाट चुनिने र दुवैले कार्यकारी अधिकार बाँड्ने मिश्रित मोडल प्रस्ताव

काठमाडौँ  – संविधान निर्माणमा रहेका विवादमा सहमति कायम गर्न गठित कार्यदलले राष्ट्रपति प्रत्यक्ष र प्रधानमन्त्री संसदबाट चुनिने र दुवैले कार्यकारी अधिकार बाँड्ने मिश्रित मोडल प्रस्तावित गरेको छ।

माओवादीले प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको राष्ट्रपति र एमालेले प्रत्यक्ष निर्वाचित कार्यकारी अधिकारसहितको प्रधानमन्त्री अनि कांग्रेसले संसदबाट निर्वाचित कार्यकारी अधिकारसहितको प्रधानमन्त्रीको अडान राख्दै आएको थियो।

विवादहरुमा सहमति कायम गर्न सदभावना पार्टीका नेता लक्ष्मणलाल कर्णको नेतृत्वमा कार्यदल गठन गरिएको थियो।

कार्यदलले कांग्रेस र माओवादीको प्रस्तावबाट मध्यमार्गी बाटो निस्कने गरी मिश्रित मोडलको प्रस्ताव गरेको हो। कार्यदलको प्रस्ताव माओवादी अध्यक्ष पुष्पकमल दाहाल संयोजक रहेको विवाद समाधान उपसमितिको आगामी बैठकमा प्रस्तुत गरिने छ।