भैरहवा – नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले दश बर्षे माओवादी
द्वन्दको बेलामा भन्दा पछिल्लो तीन बर्षमा मधेशमा गैरन्यायिक हत्या र मधेशी
समुदायलाई गलत आरोप लगाएर मुद्दा लगाउने क्रियाकलाप बढेको आरोप लगाएका छन् ।
सोमबारदेखि भैरहवामा सुरु भएको सद्भावना पार्टी बर्गिय मञ्चको तीनदिने राष्ट्रिय
सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष महतोले उक्त आरोप लगाएका
हुन् ।
माओवादी कार्यकालमा ९३ जना मधेशी ब्यक्ति गैरन्यायिक हत्यामा परेकोमा पछिल्लो
तिन बर्षमा १ सय ९६ पुगेको र ६ सय भन्दा धेरैलाई गलत मुद्दा लगाईएको दावी उनको थियो
।
तीन ठूला राजनीतिक दलबीच भएको पाँच बुँदे सहमति अनुरुप राष्ट्रिय सहमतिको सरकार
बनाउने प्रयास नभएको जनाउँदै राष्ट्रिय सहमति बनाउने भूमिका प्रधानमन्त्री झलनाथ
खनालले निभाउन नसकेको आरोप लगाए ।
तीन दलबिच भएको पाँच बुँदे सहमति अनुरुप संविधान सभाको म्याद थप तीन महिनालाई
बढाउने बाहेकको अन्य कुनै बुँदा हालसम्म पुरा नभएको दावी उनले गरे । मधेशको सवाल
प्रति तिन ठूला दलका कुनैपनि नेता नबोलेको उल्लेख गर्दै उनले मधेशवादी दल र
कार्यकर्ताको निम्ती आउनेवाला समय अझै संघर्षपूर्ण हुने बताए ।



