अख्तियारव्दारा कांग्रेस सुजाता कोइरालाका ज्वाइँ रुबेल चौधरीलाई निगरानीमा राख्न प्रहरीलाई निर्देशन

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कांग्रेस नेतृ सुजाता
कोइरालाका ज्वाइँ रुबेल चौधरीलाई निगरानीमा राख्न प्रहरीलाई निर्देशन दिएको छ ।
आयोगले अन्तर्राष्ट्रिय कल बाइपासमा उनको संलग्नताको आशंका गर्दै निगरानीमा राख्न
निर्देशन दिएको हो ।

चितवनको टाइगर टप्स रिसोर्टमा पूर्वयुवराज पारस शाहले गोली प्रहार गरेको घटनापछि
बंगलादेशी नागरिक चौधरी एकाएक चर्चामा आएका थिए । अख्तियारका उपसचिव कोमलबहादुर
खत्रीले हस्ताक्षर गरी पठाएको चलानी नम्बर ११४० को गोप्य निर्देशनमा ‘चौधरीले
अन्तर्राष्ट्रिय कल बाइपास गरी नेपाल टेलिकमको राजस्व हानि/नोक्सानी पुर्‍याएको
भन्ने उजुरीउपर आयोगको बैठकमा छलफल हुँदा नेपाल प्रहरीलाई निगरानी गरी अनुसन्धान
गर्न आदेश दिने निर्णय’ भएको उल्लेख छ । आयोगले निर्णयमा ‘आरोपित व्यक्तिलाई
निगरानीमा राखी अनुसन्धान गर्न र प्रमाण जुटाएर यथाशीघ्र कानुनी दायरामा ल्याउन’
प्रहरीलाई दिएको निर्देशनमा उल्लेख छ ।

आयोगबाट प्राप्त आदेशअनुसारको निर्देशन कार्यान्वयन गर्नका लागि प्रहरी
मुख्यालयले अन्तर्राष्ट्रिय कल बाइपास (भीओआईपी) सम्बन्धी मुद्दा हेरिरहेको
केन्द्रीय अनुसन्धान ब्युरो र अपराध अनुसन्धान विभागलाई निर्देशन दिएको छ ।

प्रहरीले यसअघि भीओआईपीसम्बन्धी विभिन्न अनुसन्धानका क्रममा चौधरीको संलग्नता
भेटे पनि राजनीतिक दबाबका कारण उनलाई अनुसन्धानको दायरामा ल्याउन नसकेको उच्च
स्रोतको भनाइ छ । स्रोतका अनुसार पूर्वउपप्रधानमन्त्री कोइराला पदमा रहेको मौका
छोपी चौधरीले बंगलादेशी प्राविधिकहरूलाई नेपाल ल्याई ठूलो ‘गेटवे’ को सन्जालमार्फत
दर्जनौं स्थानमा घर भाडा लिई बाइपास सेन्टर राखेर पचासौं करोड रुपैयाँ बराबरको
अन्तर्राष्ट्रिय कल छली गरेको आशंका अनुसन्धानमा संलग्न अधिकृतहरूको छ ।

उपत्यकामा भीओआईपीबारे प्रहरीले अनुसन्धान गर्नुअघि चौधरीले काठमाडौंस्थित
थुप्रै मित्रहरूलाई आफूले भीओआईपीसम्बन्धी काम गर्ने गरेको बताउने गर्थे ।
तीमध्येका एक ‘मित्र’ ले प्रहरीलाई दिएको जानकारीअनुसार उनी आफ्नो भीओआईपीको
कामबारे खुलेआम सुनाउँथे । ‘हामी बुझ्दैन थियौं, कुनै ठूलो आधुनिक विज्ञान र
प्रविधिसँग जोडिएको काम होला भन्ने सम्झेर हामी उनको पेसाबारे वास्ता गर्दैनथ्यौं
तर अहिलेमात्रै थाहा भयो, त्यो काम त गैरकानुनी पो रहेछ,’ चौधरीका एक साथीले
प्रहरीलाई बताएका छन् ।

चौधरीको सुडान घोटाला प्रकरणमा संलग्न बिचौलिया शम्भु भारतीसँग पनि घनिष्ठ
सम्बन्ध रहेको स्रोतहरूले जनाएका छन् । चौधरीले आफ्नी सासू परराष्ट्रमन्त्री भएका
बेला उनकै आडमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आउँदा-जाँदा सुरक्षाकर्मीले
जाँच नगर्ने भीभीआईपी कक्षको समेत दुरुपयोग गर्ने गरेको प्रहरीको रेकर्डबाट देखिन्छ
। विशिष्ट व्यक्तिहरूले मात्रै प्रयोग गर्न पाउने उक्त कक्ष मन्त्री कोइरालाले
आफ्ना ज्वाइँलाई कुन हैसियतमा के उद्देश्यका लागि उपलब्ध गराएकी थिइन् भन्नेबारे
हालसम्म अनुसन्धान भएको छैन ।