– उदय जीएम
यूएई डेस्क – दाङ, ५ असार:नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी अधिकृतहरुमाथि मात्र मुद्दा दर्ता गरेको र त्यो मुद्दामा मुख्य रुपले जिम्मेवार भएका राजनीतिक नेतृत्वलाई अलग राखेकोले अख्तियारको निष्पक्षतामा शंका उत्पन्न भएको जनाएको छ ।
महामन्त्री मोहनविक्रम सिंहद्वारा आइतवार जारी विज्ञप्तिमा सुडानको भ्रष्टाचारमा मुछिएका सबै राजनीतिक नेताहरुमाथि पनि आवश्यक छानवीन गर्नुपर्ने र कारवाही अगाडि बढाउनु पर्नेमा जोड दिइएको छ ।
विज्ञप्तिमा पत्रकार खिलनाथ ढकालमाथि एमालेसम्बद्ध युथफोर्सका कार्यकर्ताद्वारा भएको साँघातिक र हिंसात्मक आक्रमणलाई दण्डहीनताको चरम रुप बताइएको छ ।’अहिले एमालेको नेतृत्वमा नै सरकार भएको बेलामा त्यस प्रकारको घटना घट्नु र दोषीमाथि आवश्यक कारवाही हुन नसक्नु गम्भीर चिन्ताको विषय हो’, विज्ञप्तिमा भनिएको छ ।
पत्रकार ढकालमाथि भएको आक्रमणको तीब्र शब्दमा भर्त्सना गर्दै विज्ञप्तिमा दोषीमाथि शीघ्र कारवाही र अपराधअनुसार सजायको माग पनि गरिएको छ । त्यसका लागि पत्रकार महासंघले चलाइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाइएको छ ।
विज्ञप्तिमा संविधानको अवधि तीन महिना थप्दा शान्तिप्रक्रिया र संविधान निर्माणबारे गरिएको प्रतिवद्धतामा अहिलेसम्म ठोस प्रगति नभएकोमा आपत्ति जनाइएको छ । तीन महिनाभित्र प्रतिवद्धताअनुसार काम नभए संविधानसभाको विघटन हुने, देशमा अनिश्चित र अन्यौलपूर्ण राजनीतिक स्थितिको सिर्जना हुने या देश प्रतिगमनको दिशामा जाने समेत खतरा विज्ञप्तिमा औंल्याइएको छ ।
देशलाई अनिश्चित र अन्यौलपूर्ण राजनीतिक अवस्था वा प्रतिगमनको दिशामा जान नदिन संविधानसभा र गणतन्त्र पक्षधर राजनीतिक शक्तिहरुसित विशेषरुपले गम्भीर र र्सतर्क भएर आफ्नो जिम्मेवारी पूरा गर्न पनि विज्ञप्तिमा अपील गरिएको छ । माओवादी र मधेशवादीहरुको लडाकूहरुलाई समूहगतरुपमा नेपाली सेनामा सामेल गर्ने र संघीयतासम्बन्धी आफ्ना मतभिन्नतालाई कायम राख्दै शान्ति र संविधानका पक्षमा उठ्ने सबै सकारात्मक कदमलाई आफ्नो पाटी र्समर्थन दिने पनि महामन्त्री सिंहको विज्ञप्तिमा जनाइएको छ ।