सुडान घोटाला प्रकरणमा महामन्त्री कृष्णप्रसाद सिटौलाको संलग्नताबारे पार्टीबाट पनि छानबिन थाल्नुपर्ने कांग्रेसका युवा नेताहरूको माग

– कुलचन्द्र न्यौपाने

काठमाडौं  – नेपाली कांग्रेसका युवा नेताहरूले सुडान घोटाला प्रकरणमा महामन्त्री
कृष्णप्रसाद सिटौलाको संलग्नताबारे पार्टीबाट पनि छानबिन थाल्नुपर्ने माग गरेका छन्

१२ औं महाधिवेशनले पार्टीभित्र र बाहिरसमेत भ्रष्टाचार हटाउन विशेष पहल थाल्ने
नीति लिएको बताउँदै उनीहरूले राष्ट्रलाई बदनाम बनाउने गरी भएको सुडान घोटाला
प्रकरणमा महामन्त्री सिटौलाको मुख्य संलग्नता भनेर प्रचारित भइरहँदा सिंगो पार्टी
नै बदनाम हुन पुगेको बताए । पार्टीको छवि बचाउन पनि आन्तरिक रूपमा छानबिन अघि
बढाउनुपर्ने उनीहरूको जोड छ ।

सिटौला गृहमन्त्री हुँदा सुडान मिसनमा खटिएका सुरक्षाकर्मीको बस्दोबस्तीका सामान
खरिदमा झन्डै २९ करोड रुपैयाँ भ्रष्टाचार भएको अभियोगसहित प्रहरी अधिकारीविरुद्ध
मुद्दा चले पनि पूर्वगृहमन्त्री र सचिवलाई उन्मुक्ति दिइएको छ । ‘कुनै पनि व्यक्ति
या एउटा नेताको कारणले पार्टीलाई बदनाम हुन दिन हुँदैन, सुडानमा महामन्त्रीको
संलग्नतको विषय जसरी बाहिर आइरहेको छ, यसले पार्टीको छविमा प्रश्न खडा गरेको छ,’
युवा नेता एवं केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले भने, ‘यसको आन्तरिक रूपमा पनि
तत्काल छानबिन गरी सत्यतथ्य जनसमक्ष ल्याउनुपर्छ ।’

घोटालामा सिटौलाको संलग्नतालाई लिएर चर्को विरोध हुँदा पनि पार्टी नेतृत्व भने
मौन रहँदै आएको छ । हालै सम्पन्न सभापतिहरूको राष्ट्रिय भेलामा समेत सिटौलाको
संलग्नताबारे नेतृत्वले प्रस्टीकरण दिनुपर्ने माग राखिएको थियो । पाण्डेले पार्टीको
१२ को महाधिवेशनले भ्रष्टाचार मुक्त समाज निर्माण गर्न पार्टीभित्र र बाहिरसमेत
नेतृत्वदायी भूमिका निर्वाह गर्ने नीति लिएकाले पनि यो मुद्दामा मौन बस्न नहुने
बताए । ‘छानबिनमा देखिने जुनसुकै तह, तप्काका नेता र नातागोतासमेत कारबाहीको
दायरामा आउनुपर्छ,’ उनले भने, ‘कसैले उन्मुक्ति पाउने र कोही कारबाहीको भागी हुने
अवस्था हुनुहुँदैन ।’

अर्का केन्द्रीय सदस्य गगन थापा र धनराज गुरुङले राष्ट्रको प्रतिष्ठा गिराउने
सुडान प्रकरणप्रति पार्टी नेतृत्व चुप लागेर बस्न नहुने बताए । ‘पार्टीको पोजिसन
हेरेर कारबाही गर्ने/नगर्ने, छानबिनको गहिराइमा पुग्ने र नपुग्ने कार्य हुनुहुँदैन,
कांग्रेस, एमाले या माओवादीको टोपी लगाउँदैमा दोषीले उन्मुक्ति पाउनु हुँदैन,’
थापाले भने, ‘यसको छानबिन जरोसम्म पुग्नुपर्छ भनेर पार्टीले अडान लिनुपर्छ ।’

युवा नेताहरूले सुडान प्रकरणमा सिटौला र पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री
सुजता कोइरालाको छोरीज्वाइर्ँ रुवेल चौधरीको संलग्नतालाई लिएर पार्टीको केन्द्रीय
समितिको बैठकमा समेत कुरा उठाउने तयारी गरेका छन् । ‘सुडान भनेको राष्ट्रको बेइज्जत
हुने कान्ड हो । यसमा दोषी भएकाहरूले उन्मुक्ति पाएनन् भनेमात्रै भविष्यमा
भ्रष्टाचारलाई निरुत्साहित गर्न सकिन्छ,’ अर्का केन्द्रीय सदस्य गुरुङले भने,
‘दोषीलाई कठघरामा ल्याइएन भने भ्रष्टाचार गर्नेहरूलाई उत्साह हुन्छ ।’

गुरुङले यस घोटालामा कांग्रेस र एमालेको जतिसुकै ठूलो नेता भए पनि त्यस्तालाई
कठघरामा ल्याएर छानबिन गर्नुपर्ने बताए ।

सिटौलाले भने सुडान प्रकरणमा आफूलाई थाहा नपाएको प्रतिक्रिया दिँदै आएका छन् ।
उनले केही समय अघि पार्टी केन्दीय समितिको बैठकमा पार्टीका नेता चिरञ्जीवी
वाग्लेविरुद्ध सर्वोच्च अदालतले गरेको निर्णयको पार्टीले विरोध गर्नुपर्ने
प्रस्तावसमेत राखेका थिए । तर, अधिकांश सदस्यहरूले त्यसको प्रतिवाद गरेपछि प्रस्ताव
छलफलबाट हटाइएको थियो ।

‘एउटै मुलुकमा दुईथरी नागरिक हुँदैन । घोटालामा संलग्न भनिएका कांग्रेसकै नेता र
नातागोतालाई समेत छानबिनको कठघरामा ल्याइनुपर्छ,’ थापाले भने, ‘नेता भएकै कारण
कसैले उन्मुक्ति पाउँछ भने त्यसको प्रतिवाद पार्टीभित्रबाट पनि हुन्छ ।’

दोषी भए सिटौला कारबाहीको भागिदार बन्नुपर्छः ढुगाना

भक्तपुर- कांग्रेस केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले सुडान घोटाला प्रकरणमा
पार्टी महामन्त्री कृष्णप्रसाद सिटौला दोषी ठहरिएमा कारबाहीको भागिदार बन्नुपर्ने
बताएका छन् । उनले कुनै पनि भ्रष्टाचारीलाई पार्टीले संरक्षण नगर्नेसमेत बताए ।
‘महामन्त्री सिटौला दोषी ठहरिनासाथ पार्टीले पनि कारबाही गर्छ,’ बुधबार भक्तपुरमा
रक्तसञ्चार क्लबले आयोजना गरेको कार्यक्रममा ढुंगानाले भने, ‘उनी मात्रै होइनन्,
सुजाताका ज्वाइँ रुबेल चौधरीलाई पनि घोटालामा संलग्न भए कारबाही हुनुपर्छ ।’