तराईका भूमिगत सशस्त्र सङ्गठन जनतान्त्रिक तराई मुक्ति मोर्चा मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)मा समाहित

जनकपुरधाम । तराईका भूमिगत सशस्त्र सङ्गठनमध्ये जनतान्त्रिक तराई मुक्ति मोर्चा आजदेखि मधेसी जनअधिकार फोरम (गणतान्त्रिक)मा समाहित भएको छ ।

फोरम (गणतान्त्रिक) का अध्यक्ष जयप्रकाश गुप्ता र मोर्चाका उपाध्यक्ष राजीव झाबीच आज जनकपुरमा भएको सहमति अनुरुप मोर्चा फोरम (गणतान्त्रिक) मा समाहित भएको हो ।

फोरम (गणतान्त्रिक) ले मधेसका सवालमा अबलम्बन गरेको नीति तथा कार्यक्रमलाई स्वीकार गर्दै अबदेखि शान्तिपूर्ण र संसदीय माध्यमबाट मुलुकमा सङ्घीय लोकतन्त्र गणतन्त्र र स्वायत्त मधेस प्रदेशको स्थापना गराउने सङ्घर्षमा प्रतिबद्धता व्यक्त गर्दै मोर्चा फोरम (गणतान्त्रिक) मा समाहित भएको सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

सो अवसरमा फोरम (गणतान्त्रिक)का अध्यक्ष गुप्ताले मधेस आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै थप उपलब्धि प्राप्त गर्न तराईमा सङघर्षरत् सशस्त्र सङ्गठनलाई एकताबद्ध गरी शान्तिपूर्ण आन्दोलनलाई गति दिन सम्झौता भएको हो भन्नुभयो ।
शान्तिपूर्ण प्रक्रियाबाट शान्ति निर्माण गर्न अन्य भूमिगत सङ्गठनसँग पनि गम्भीरतापूर्वक वार्ता भइरहेको उहाँले स्पष्ट गर्नुभयो ।