काठमाडौ – नेकपा एमाले नेता केपी ओलीले भावी सरकारको नेतृत्व पनि एमालेले
गर्ने दावी गरका छन् । तर एमालेका कुन व्यक्तिले सरकारको नेतृत्व गर्ने त्यस विषयमा
बताउन चाहेनन् ।
दुई साता लामो विदेश भ्रमणपछि शुक्रबार स्वदेश फर्किएका उनले विमानस्थलमा
संचारकर्मीसंग कुरा गर्दै भने-‘सरकारको नेतृत्व फेरि एमालेले गर्छ, व्यक्तिको कुरा
छाडिदिनुस ।’
उनले पत्रकार खिलानाथ ढकालमाथि आक्रमणका योजनाकार पर्शुराम वस्नेतलाई संरक्षण
दिएको आरोपको खण्डन गरेका छन् । आफूले कसैको संरक्षण नगरको उनको भनाई थियो ।
‘मुलुकको कुनै कुनामा कोही झगडा गर्छन वा भिड्छन् भने त्यसको जिम्मा मैले
लिनुपर्ने ?’ भन्दै उनले विरोधीले उचित ढंगले आफूसंग संघर्ष गर्ननसक्दा अनुचित बाटो
रोजेको बताए ।
अर्को प्रसंगमा उनले पाँच बुँदे सहमति अनुसार वर्तमान सरकार व्यवहारिक रुपमा
कामचलाउ भइसकेको बताए । उनले दलका नेताहरुको व्यवहारका कारण थपिएको तीन महिनामा
शान्ति र संविधानका विषय पूरा हुनेमा आशंका रहेको उल्लेख गरे ।



