हेटौडा – संविधानसभाको पछिल्लो पटक थपिएको तीन महिनाभित्रै संविधानको एकीकृत मस्यौदा आउने उपराष्ट्रपति परमानन्द झाले दावी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपाल मकवानपुर शाखाले शनिबार हेटौडामा आयोजना गरेको
साक्षात्कारमा बोल्दै उपराष्ट्रपति झाले पछिल्लो समयमा दलहरुबीच सहमतिको बातावरण
बन्दै गएकोले थपिएकै समयमा संविधानको पहिलो मस्यौदा आउने दावी गरेका हुन् ।
उपराष्ट्रपति झाले भने, ‘बजेटमा दलहरुबीच भएको समझदारीले सहमतिको सकारात्मक
वातावरण बनाएको छ । मलाई विश्वास छ, थपिएको समयमा संविधानको एकीकृत मस्यौदा आउँछ ।’
उनले शान्ति र संविधानका लागि अहिले सकारात्मक वातावरण बनेको भन्दै दलहरुलाई
दत्त चित्त भएर त्यसमा लाग्न आग्रह गरे ।
दलहरु नै मुलुकको भविष्य निर्धारण गर्ने असली खेलाडी भएको उल्लेख गर्दै
उपराष्ट्रपति झाले राष्ट्रपति र उपराष्ट्रपतिले त केवल अभिभावकको भूमिका मात्रै
निर्वाह गर्ने बताए । उनले फ्रेन्च, अमेरिकी वा बेलायती कुन मोडलको शासन प्रणालीमा
जाने भन्ने विषय दलहरुकै सहमतिको विषय भएको भन्दै दलहरुलाई छिटो सो विवादको हल
खोज्न सुझाव दिए ।
संघीयता मुलुकको विकासको मुख्य कडि भएको दावी गर्दै उनले संघीयता विकासको
मेरुदण्ड भएको बताए । उपराष्ट्रपतिले भने,’संघीयता नयाँ नेपाल निर्माणको आधार दिन्छ
। त्यसैले सबै मिलाएर संघीयतामा जानु पर्छ ।’



