काँकडभिट्टा – भारतको सिक्किममा अविरल वर्षापछि बिहीबार राति गएको
पहिरोमा पुरिएर पाँच नेपाली मजदुरसहित १५ जनाको मृत्यु भएको छ ।
स्थानीय पत्रकार केएन शर्माका अनुसार मृत्यु हुनेमा एकै परिवारका तीनसहित पाँच
नेपाली तथा अन्य १० नेपालीभाषी मजदुर छन् ।
पश्चिम सिक्किमको सदरमुकाम गेजिङदेखि करिब १५ किलोमिटर टाढाको क्षेत्रमा सोमबार
बिहानैदेखि भारी वर्षा भएकाले पहिरो गएको उनले जनाए । घटनामा मृत्यु हुनेमा
पाँचथरको रानीटारका दावा तामाङ -६०), सुकमाया छेत्री (५५), टेकबहादुर अधिकारी (३८),
उनकी पत्नी जानुका (३०) र एक दूधे बालक छन् । मृत्यु हुने सबै सडक मजदुर हुन् ।
उनीहरू केही समययता सिक्किमको राजधानी गान्तोक जोड्ने राजमार्ग निर्माणमा संलग्न
थिए ।
सोही पहिरोमा पुरिएर दार्जिलिङस्थित विजनबारीका एकै परिवारका पाँच जना मजदुरको
पनि पुरिएर मृत्यु भएको छ । कुमार राई (३५) उनकी पत्नी माया राई (२५), छोरी अनु राई
(११) तथा छोराहरू अनुप राई (८) र बुद्ध राई (२) को मृत्यु भएको हो ।
पश्चिम सिक्किमकै कलुक सिरिवदाम निवासी पुजन सुब्बा (१२), सुजन सुब्बा (८),
लिङचोम निवासी फिपराज सुब्बा (२५), माथिल्लो तिकजेक खेवा डाँडाकी प्रमिला गुरुङ
(१६) र मनमाया सुब्बा (५५) को पनि घटनास्थलमै मृत्यु भएको सिक्किमका अर्का पत्रकार
सरोज गुरुङले फोनमा जानकारी दिए । सडकदेखि करिब सय मिटर माथिदेखि घर सोहोरेर पहिरो
खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै गुरुङले जानकारी दिएका छन् ।



