उपेन्द्र लामिछाने
वीरगन्ज – उप-प्रधान तथा परराष्ट्रमन्त्री उपेन्द्र यादवले नेपाली काँग्रेस र एमालेका केही नेताले संविधान बनाउन नचाहेको बताएका छन्। फोरम नेपालको वीरगन्जमा आयोजित पर्सा जिल्लास्तरीय कार्यकर्ता भेलालाई संवोधन गर्दे यादवले संविधान सभा विघटन गराएर उनीहरुले राष्ट्रको साथ गद्धारी गर्न लागिपरेको आरोप लगाए।
‘संविधान बने संघियता, गणतन्त्र र स्वायत्त मधेशप्रदेशको हक कसैले रोक्न सक्दैन ‘, यादवले भने -‘ त्यही नहोस् भनेर उनीहरु विघटनको बाटोमा लागेका छन्।’ भारतीय नेताले ‘कानमा मन्त्र’ फुकेपछि मधेशवादी दलपनि संविधान विघटनको खेलमा लागि परेको यादवको आरोप छ। उनले काँग्रेसका कृष्णप्रसाद सिटौला, एमालेका खड्ग ओली , फोरम लोकतान्त्रीकका बिजय गछ्दार र तमलोपाका महन्थ ठाकुर संविधान सभा विघटन गराउने खेलमा लागिपरेको बताए।
फोरम नेपालको ‘फुट’लाई उनले संविधान बनाउन नदिने ‘साजिस’को परिमाण भएको बताए। संविधान सभा विघटन गराएर राष्ट्रपतीलाई अगाडी बढाउने खेल भएको बताउदै उनले त्यस्तो ‘अभिष्टा’ कसैको पूरा नहुने बताए।
उनले मधेशी फोरममा पछिल्लो समयमा देखिएको फुटले कार्यकर्ता निराश हुनु नपर्ने बताए। ‘ पार्टी टुक्रिएको हैन ‘, कार्यकर्तामाझ यादवले भने -‘ उनीहरु केही सभासदले पार्टी छाडेर हिडेका हुन्। ‘ गणतान्त्रिक फोरमका नेता जयप्रकाश गुप्तालाई ‘नटवरलाल’को संज्ञा दिँदै यादवले उनकै चलखेलबाट सभासद बाहिरिएको सुनाए।



