बहुप्रतीक्षित सबैभन्दा सस्तो कार नानो नेपाली बजारमा बिक्री सुरु

काठमाडौं  – बहुप्रतीक्षित सबैभन्दा सस्तो कार ‘नानो’ नेपाली बजारमा बिक्री सुरु भएको छ। मध्यमवर्गीय नेपाली परिवार लक्ष्य गरी आइतबार सार्वजनिक गरिएको नानोको मूल्य ७ लाख ९८ हजार रुपैयाँ तोकिएको छ। यो मूल्य सबै किसिमका करसहितको हो। नानोका तीन थरी मोडेल छन्। सबैभन्दा सस्तोलाई नानो, मध्यमलाई नानो सिएक्स र सबैभन्दा महँगोलाई नानो एलएक्स नाम दिइएको छ। सिप्रदीका अनुसार नानोको मूल्य ७ लाख ९८ हजार, सिएक्सको ९ लाख ९८ हजार र एलएक्सको ११ लाख ७८ हजार रुपैयाँ पर्नेछ। 

भारतमा नानोको मूल्य १ लाख ५० हजार, सिएक्सको १ लाख ८० हजार र एलएक्सको २ लाख १० हजार भारतीय रुपैयाँ पर्छ।

‘नेपालमा करका कारण सस्तो कार पनि महँगो पर्ने गरेको छ तर, नेपाली उपभोक्ताले सोचेभन्दा साह्रै कम मूल्य राखेर नानो बिक्री सुरु गरेका छौं,’ टाटा मोटर्सका अन्तर्राष्ट्रिय व्यापार प्रमुख जोनी उमेनले भने, ‘यति सस्तो मूल्यमा कार किन्न पाउने भएपछि हजारौं नेपालीको कार चढ्ने सपना साकार हुनेछ।’

भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गरेको नानोको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले पहिलोपल्ट गत जेठ १८ मा नानोलाई काठमाडौंमा सार्वजनिक गरेको थियो।

‘आज (असार १२) बाट १० दिनसम्म नानोको बुकिङ खुला गरिएको छ,’ सिप्रदीका कार्यकारी अध्यक्ष सिद्धार्थसमशेर राणाले नानो सार्वजनिक गर्न आइतबार राजधानीमा आयोजित औपचारिक कार्यक्रममा भने, ‘बुकिङ गरेकाले आगामी साउन १५ बाट नानो कार पाउँछन्।’

सिप्रदीका अनुसार १० हजार रुपैयाँमा नानो, २० हजारमा सिएक्स र ३० हजार रुपैयाँमा एलएक्स बुकिङ गर्न पाइनेछ। बैंकमार्फत् नानो किन्न चाहनेले कूल मूल्यको २० प्रतिशत अग्रिम भुक्तानी गर्नुपर्ने छ। त्यसपछि बैंकले तोकेको ब्याज दरमा मा

सिक ११ हजार १ सय ११ रुपैयाँ किस्ता तिरेर पाँच वर्षपछि नानो ग्राहकको नाममा आउनेछ।
सिप्रदीले सरल किस्ताबन्दीका लागि विभिन्न वाणिज्य बैंकहरूसँग छलफल भइरहेको जनाएको छ। ‘एभरेस्ट बैंकसँग सहकार्य गर्न छलफल भइरहेको छ,’ सिप्रदीका प्रमुख कार्यकारी अधिकृत शम्भुप्रसाद दाहालले भने, ‘अरु बैंकसँग छलफलको तयारी गर्दै छौं।’
कम्पनीले देशभरका १४ बिक्री केन्द्रबाट नानो बिक्री सुरु गर्नेछ। काठमाडौं, वीरगन्ज, इटहरी, नेपालगन्जलगायत ९ ठाउँमा रहेका सर्भिसिङ सेन्टरले नानो मर्मतसम्भार गर्ने कम्पनीले जनाएको छ। नानो सर्भिसिङ गर्न एउटा सेन्टरमा ६ प्राविधिक रहनेछन्। उनीहरूलाई नयाँदिल्लीबाट तालिम दिलाइएको हो। नानोको बजारीकरण गर्न इन्टरनेट सामाजिक सञ्जाल फेसबुकमा ‘टाटा नानो नेपाल’ पेज बनाइएको छ।
संसारकै सबैभन्दा सस्तो दाबी गरिएको नानो कार टाटा मोटर्सले सन् २००८ जनवरीमा भारतमा सार्वजनिक गरेको थियो।
सिप्रदीले ल्याएका दुई नानोलाई नेपाल यात्रामा कुदाइरहेको छ। कम्पनीका अनुसार ती नानोले हालसम्म ६ हजार किलोमिटर यात्रा गरिसकेका छन्। नानोलाई नेपाली सडकमा एक महिनाभित्र १० हजार किलोमिटर कुदाएपछि पुनः थप ३५ हजार किलोमिटर कुदाउने योजना कम्पनीको छ।
सबै किसिमका नानोमा चार सिट छन्। यसको इन्जिन क्षमता ६ सय २४ सिसी रहेको छ। दुई सिलिन्डर रहेको नानो अधिकतम १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा कुद्न सक्छ। प्रतिलिटर इन्धन २३ दशमलव ६ किलोमिटर कुद्न सक्छ। यसमा पाँच गियर हुन्छ। नानोको अगाडि र पछाडि दुवै पाङ्ग्रामा ड्रम ब्रेक छन्। पाङ्ग्रा ट्युबरहित छन्।
सस्तो नानो आइभोरी ह्वाइट, रेसिङ रेड र समर ब्ल्यु, नानो सिएक्स आइभोरी ह्वाइट, रेसिङ रेड, समर ब्ल्यु, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर तथा नानो एलएएक्स सनसाइन येल्लो, च्याम्पेन्ज गोल्ड र लुनार सिल्भर रंगमा उपलब्ध हुनेछन्। तीनै थरी मोडेल नेपाली बजारमा पाइनेछन्।

 हिटरसहितको एयर कन्डिसनर, फ्रन्ट पावर विन्डो, कप होल्डर, सबै ढोकामा म्यागाजिन र सिक्का राख्ने ठाउँ, सबै सिटमा टाउको अडेस लगाउने भाग, चालक र यात्रुका लागि सनभाइजर, हेड ल्याम्प लेभलिङ, लो फ्युल वार्निङ ल्याम्प, पछाडिको सिट फोल्ड गर्न मिल्नेलगायत विशेषता नानोमा छन्।

नानोमा सेन्ट्रल लक, सेन्टर हाइ माउन्ट स्टप ल्याम्प, लेमिनेटेड विन्डसिल्ड, बुस्टर एसिस्टेड ब्रेक, सबै सिटमा बेल्ट, इन्ट्र्युजन बिमलगायत सुरक्षा सुविधा छन्। – नागरिक