सरकारले नेपाल वायु सेना निगमको कार्यकारी अध्यक्षमा मनरुप शाहीलाई नियुक्त

काठमाडौं – सरकारले नेपाल वायु सेना निगमको कार्यकारी अध्यक्षमा मनरुप
शाहीलाई नियुक्त गरेको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी अध्यक्ष सुगतरत्न कंसाकार र
महाप्रबन्धक केबी लिम्बूलाई हटाएर शाहीलाई नियुक्त गरेको हो ।

कार्यकारी प्रमुखको विषयमा कंसाकार र लिम्बूबीच विवाद भएपछि लामोसमयदेखि नेपालको
एकमात्र राष्ट्रिय ध्वजावाहक संकटमा परेको गुनासो आएको थियो ।

मन्त्रिपरिषदद्वारा ढकाललाई २ लाख सहयोग

सरकारले सत्तारूढ एमालेको भातृ संगठन युथफोर्स मोरङको अध्यक्ष परशुराम बस्नेत
समूहको सांघातिक आक्रमणमा परी सख्त घाइते भएका विराटनगरका पत्रकार खिलानाथ ढकालको
सम्पूर्ण उपचार खर्च बेहोर्ने र हाललाई उनलाई २ लाख रुपैयाँ प्रदान गर्ने निर्णय
गरेको छ ।

बैठकले पत्रकार ढकालको उपचार गर्न हाललाई २ लाख रुपैयाँ प्रदान गर्ने र उनीमाथि
सांघातिक हमला गर्ने अपराधीलाई तत्काल खोजी गरी कडा कारबाही गर्ने निर्णय गरेको
जानकारी सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री गंगालाल तुलाधरले दिए ।

विश्व बैंकले करिब ३ अर्ब सहयोग गर्ने

विश्व बैंकले शिक्षा क्षेत्र र सहरी पूर्वाधार विकासमा करिब ३ अर्ब रुपैयाँ ऋण
सहायता प्रदान गर्ने भएको छ । मन्त्रिपरिषदको बैठकले विश्व बैंकले दिन लागेको
शिक्षा क्षेत्रको व्यावसायिक तथा तालिम कार्यक्रम प्रवर्द्धनका लागि करिब १ अर्ब १०
करोड तथा सहरी पूर्वाधार विकासका लागि १ अर्ब ७७ करोड रुपैयाँ ऋण सहायता ग्रहण
गर्ने निर्णय गरेको जानकारी तुलाधरले दिए ।

सेनाका तीन डाक्टरको बढुवा

सरकारले जंगी अड्डाको सिफारिसमा प्राविधिक -चिकित्सक) तर्फका महासेनानी नर्वदा
थापालाई सहायक रथी, प्रमुख सेनानीद्वय भोलानाथ बुढाथोकी र अनिता अधिकारीलाई
महासेनानीमा बढुवा गरेको छ । सरकारका प्रवक्ता तुलाधरका अनुसार ती तीनै जनालाई
वीरेन्द्र सैनिक अस्पतालमा पदस्थापन गरिएको छ ।

पाँच अस्पतालमा अध्यक्ष नियुक्त

सरकारले विभिन्न पाँच क्षेत्रीय र अञ्चल अस्पताल विकास समितिको अध्यक्ष नियुक्त
गरेको छ । मध्यपश्चिमको सुर्खेतस्थित क्षेत्रीय अस्पतालमा जितबहादुर राना, नारायणी
क्षेत्रीय अस्पतालमा क्षेत्रबहादुर श्रेष्ठ, जनकपुर अञ्चल अस्पतालमा चन्द्रेश्वर
यादव, लुम्बिनी अस्पतालमा प्रदीप कठायत र भेरी अञ्चल अस्पतालमा भरतप्रसाद
प्रसाईंलाई अध्यक्ष नियुक्त गरिएको छ ।

प्रहरी अस्पतालमा दरबन्दी थप

सरकारले वीरेन्द्र प्रहरी अस्पतालमा विभिन्न ५४ जनाको दरबन्दी स्वीकृत गरिएको छ
। अस्पतालमा चिकित्साकर्मीसहित विभिन्न जनशक्ति अपुग भएकाले दरबन्दी थप गरिएको
जानकारी स्रोतले दिए ।

राससमा बराल

मन्त्रिपरिषदले राष्ट्रिय समाचार समितिको कार्यकारी अध्यक्षमा कोमलनाथ बराललाई

नियुक्त गरेको छ । यसअघिका अध्यक्ष बालकृष्ण चापागाईंले राजिनामा दिएकाले
बराललाई नियुक्त गरिएको हो । बराल माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएका
बेलामा समेत राससकै अध्यक्ष थिए । उनी २०६३ सालदेखि माओवादीको मुखपत्र जनादेशको
सम्पादकसमेत छन् ।

बागमतीमा सिंह

सरकारले अघिल्लो सरकारको पालामा नियुक्त अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत
विकास समितिका अध्यक्ष महेश बस्नेतलाई अवकास दिएको छ । मन्त्रिपरिषदले नयाँ
अध्यक्षमा बझाङका प्रेमबहादुर सिंहलाई नियुक्त गरेको छ । उनी माओवादी कार्यकर्ता
हुन् ।

नेसनल ट्रेडिङमा यादव

सरकारले नेसनल ट्रेडिङ लिमिटेडको महाप्रबन्धकमा प्रमिलाकुमारी यादवलाई बढीमा दुई
वर्षका लागि नियुक्त गरेको छ । यादव मधेशी जनअधिकार फोरमकी नेतृ हुन् ।

संघीयतासम्बन्धी स्टेरिङ कमिटी गठन

सरकारले संघीयतालाई व्यवस्थित गर्न सार्वजनिक प्रशासन पुनर्संरचना कार्यक्रम
कार्यान्वयनका लागि मुख्यसचिव माधव घिमिरे, कानुन सचिव त्रिलोचन उप्रेती, सामान्य
प्रशासन सचिव प्रतापकुमार पाठक रहेको स्टेरिङ कमिटी गठन गरेको छ । कमिटीको सचिवालय
प्रधानमन्त्री कार्यालयमा रहनेछ ।

दुई गठन आदेश स्वीकृत

यसैबीच मेचीका चार जिल्लामा पर्यटन प्रवर्द्धनका लागि विकास समिति
बनाउनेसम्बन्धी गठन आदेश स्वीकृत गरिएको छ । त्यसैगरी मन्त्रिपरिषदले परराष्ट्र
मामिला अध्ययन प्रतिष्ठान विकास समिति बनाउन गठन आदेश स्वीकृत गरेको छ ।