विशेष अदालतद्बारा भ्रष्टाचार गरेको अभियोग लागेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुखलाई १५ लाख धरौटी बुझाउन आदेश

काठमाडौं  – विशेष अदालतले भ्रष्टाचार गरेको अभियोग लागेका त्रिभुवन
अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागका प्रमुख खडानन्द ढकाललाई १५ लाख धरौटी
बुझाउन आदेश दिएको छ । विशेषका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यद्वय ओमप्रकाश
मिश्र र केदारप्रसाद चालिसेको इजलासले खडानन्दलले धरौटी नराखे जेल चलान गर्ने आदेश
दिएपछि उनले बुधबारै उक्त धरौटी बुझाएका छन् ।

रातो पासपोर्ट दुरुपयोग गरेको अभियोगमा गत वैशाख २८ मा अख्तियारले उनीविरुद्ध
विशेषमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि उनी फरार रहँदै आएकोमा
बुधबारमात्रै अदालतमा उपस्थित भएका थिए । उनी साहित्यकार प्रतीक ढकालका नामले
चिनिन्छन् ।

ढकाललाई सभासदहरूको रातो पासपोर्टमा पृथ्वी छन्त्याल र सीता साहलाई विदेश पठाएको
र ती दुबईमा समातिएर नेपाल फिर्ता (डिपोर्ट) हुँदा भगाएको अभियोग लागेको छ । उनले
अदालतमा बयान दिँदै आफू निर्दाेष भएको दाबी गरेका छन् । सहअभियुक्त अध्यागमन अधिकृत
भूमिनन्द भण्डारीले अपराधबाट बच्न पोल लगाएको उनले बताएका छन् ।

कूटनीतिक राहदानी दुरुपयोगबाट आएको १ करोड ६२ लाख रुपैयाँ असुल भएको र त्यो रकम
ढकालले पनि लिएको बयान भण्डारीले अख्तियारमा दिएका थिए । गत माघ २ गते विमानस्थलबाट
छन्त्याल र साह उडेका थिए भने २ गते फर्किएका थिए । दुवै दिन ढकाल कार्यालयमा भएको
र उनकै सहमतिमा उनीहरू उम्किएको भण्डारीले बताएका छन् ।

विशेषले गत जेठ १ गते सभासदद्वय विश्वनाथप्रसाद यादव र गायत्री साहलाई पनि यही
अभियोगमा जनही १५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो । भ्रष्टाचार निवारण
ऐन, २०५९ को दफा ३३ अनुसार उनीहरू चारै जनाको पद निलम्बनमा परिसकेको छ । ‘कुनै
राष्ट्रसेवक अनुसन्धान तहकिकातका लागि दफा ३१ बमोजिम थुनामा रहेकामा त्यसरी थुनामा
रहेको अवधिभर र निजउपर दफा ३६ बमोजिम मुद्दा दायर भएकामा,’ उक्त ऐनमा भनिएको छ,
‘त्यस्तो राष्ट्रसेवक सो मुद्दाको किनारा नभएसम्म स्वतः निलम्बनमा रहनेछ ।’