कोसी नदीमा यसवर्षकै अत्यधिक पानीको बहाब, पूर्वी क्षेत्रमा खतरा

 

– अवधेशकुमार झा

इनरुवा  – कोसी नदीमा बिहीबार यसवर्षकै अत्यधिक पानीको बहाब रहेको छ ।
कोसीको कटानले पूर्वी क्षेत्रमा खतरा बढे्को छ । गृह सचिव लिलामणि पौडेल लगायत उच्च
सुरक्षा अधिकारीहरुले कोसीको स्थलगत निरीक्षण गरेका छन् ।

कोसीमा प्रति सेकेन्ड १ लाख २४ हजार क्युसेकका दरले पानीको बहाब रहेको छ । कोसी
ब्यारेजका १५ वटा ढोका खोलिएको छ । कोसी ब्यारेज पुगेका गृह सचिव पौडेलले कोसीमा
बढेको पानी र पूर्वी भागमा निरन्तर भइरहेको कटालने जोखिम बढ्दै गएको बताए । उनले
नियन्त्रणका लागि तत्काल प्रभावकारी काम थाल्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

भारतीय पक्षले गर्दै आएको नियन्त्रणको काम केही दिन यता बन्द गरेको छ ।
नियन्त्रणको काम रोकिंदा झन खतरा महशुश गरिएको छ । सचिव पौडेलले भारतीय प्रशासन र
कोसी योजनाका अधिकारीहरुसंग समन्वय गरी तत्काल नियन्त्रणको कार्य सुरु गराउन
स्थानीय प्रशासनलाई निर्देशन दिए ।

कोसी पूर्वी क्षेत्रको प्रकाशपुर क्षेत्र अन्तर्गत रहेको स्पनर नम्बर २५.५७ देखि
२६.४० को बीचमा कटान तिब्र भइरहेको छ । त्यहा पूर्वी तटबन्ध भेट्न १४ मिटर मात्र
बाँकी छ । सिंचाई विभागका निर्देशक मणिकलाल श्रेष्ठले कटानको स्थिति बढ्दै गएको र
नियन्त्रण नभए तीन वर्ष अघिको जस्तो दुर्घटनन निम्तिने खतरा रहेको बताए ।

गृहसचिव संग प्रहरी महानिरीक्षक रवीन्द्रप्रताप शाह र सशस्त्र प्रहरी
महानिरीक्षक सनत वस्नेत पनि निरीक्षणमा सहभागी थिए ।