सरकारद्वारा राजश्व नतिर्ने चार क्यासिनोका दर्ता-अनुमतिपत्र खारेज

काठमाडौ  – राजश्व नतिर्ने क्यासिना संचालक नेपाल रिक्रिएशन
सेन्टरको दर्ता सरकारले खारेज गरेको छ । पर्यटन तथा नागरिक उडययन मन्त्रालयले सेन्टरले
संचालन गर्दै आएको चार क्यासिनोको अनुमतिपत्र पनि खारेज गरेको छ ।

खारेजीमा
परेका क्यासिनोहरुमा होटल सोल्टीमा रहेको क्यासिनो नेपाल, होटल अन्नपुर्णमा रहेको
क्यासिनो अन्ना, एभरेष्टमा रहेको क्यासिनो एभरेष्ट र हृयात होटल स्थित रहेको
क्यासिनो तारा रहेका छन् ।

दुईसाता अघि पर्यटन मन्त्रालयले सार्वजनिक सूचना
जारी गरी रिक्रिएशन सेन्टरको रिक्रिएशनको नाममा रहेको बक्यौता राजश्व बुझाउन एक
हप्ताको समयावधि तोकेको थियो । तोकीएको समयमा तिर्नु पर्ने कर नतिरेपछि रिक्रिएशनको
नाममा रहेको लाइसेन्स स्वत खारेज भएको पर्यटन तथा नगरिक उडययन मन्त्रालयका सहसचिव
राजनकृष्ण अर्यालले बताए ।

राजश्व अनुसन्धान विभागले समेत रिक्रिएशनको नाममा रहेको जग्गा लिलामीका लागि
सार्वजनिक सूचना जारी गरिसकेको छ । रिक्रिएशन अन्तर्गतका विभिन्न चार क्यासिनोले
करीब ३४ करोड राजश्व तिर्न बाँकी छ ।

सेन्टरले २०६१ साल देखि राजश्व तिरेको
छैन । सहसचिव अर्यालले खारेज गर्ने निर्णय भइसकेकाले गृहमन्त्रालयले अनुगमन गर्ने
बताए । सेन्टरका कार्यकारी प्रमुख राजेश्वर बाधवाले भने पर्याटन मन्त्रालयको
विरुद्ध सर्वोच्चमा रिट दायर गरेका छन् ।