काठमाडौं – कांग्रेस स्थानीय निर्वाचन गर्न तयार रहेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले बताएका छन्। उनले नेपाल सरकारको २०६८-६९ को वार्षिक नीति तथा कार्यक्रम र बजेटमा यसको व्यवस्था गर्नसमेत कांग्रेस एकमत रहेको बताए।
उनले स्थानीय निकायको निर्वाचनको लागि बजेट व्यवस्था गर्नेबारे नेपाली कांग्रेस पूर्णरुपमा सहमत रहेको र सो सम्बन्धमा प्रधानमन्त्रीसँग भेट गरी जानकारी गराई सकिएको कुरासमेत प्रतिनिधिमण्डललाई जानकारी गराए।
स्थानीय निकायका संघ महासंघ, जिविस महासंघ, गाविस महासंघ र नेपाल नगरपालिका संघका प्रतिनिधि मण्डलले तत्काल स्थानीय निकायको निर्वाचन गराउनका लागि तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको अन्तरिम स्थानीय निकाय सञ्चालन कार्यविधि २०६८ बारे प्रमुख प्रतिपक्ष दलका नेता एवं नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौलालगायत नेपाली कांग्रेसका संविधान सभाका सदस्यहरुसँग संयुक्त रुपमा भेटवार्ता भएको थियो।



