काठमाडौं – १७ दलले स्थानीय निकाय सञ्चालनका लागि जनप्रतिनिधि परिषद् गठन गर्ने सरकारी तयारीको विरोध गर्दै त्यसलाई फिर्ता लिन चेतावनी दिएका छन्। नत्र भोलिदेखि नै संसद् भवन घेराउ गर्ने धम्की पनि उनीहरुले दिएका छन्।
मधेसी मोर्चासहितका १७ दलको बैठकले यस्तो निर्णय गरेको हो। सरकारले संविधान सभा निर्वाचनमा पाएको मतका आधारमा प्रतिनिधित्व हुनेगरी यस्तो परिषद् गठन गर्ने र त्यसैले स्थानीय निकाय सञ्चालन गर्ने तयारी गरिरहेको छ।
यस्तो निर्णयबाट थोरैमात्र मत पाएका वा कुनै स्थान विशेषमा मात्र प्रभाव भएका राजनीतिक दलको भूमिका कमजोर हुनेछ। जबकि अहिले सम्बन्धित क्षेत्रमा क्रियाशील भन्दै एकाध व्यक्तिमात्र भए पनि उक्त दलको प्रतिनिधित्व गर्दै सर्वदलीय समितिमार्फत् ती दलले स्थानीय निकाय सञ्चालनमा सहभागिता जनाउँदै आएका छन्।- नागरिक



