व्यवस्थापिका संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम दिशाहीन रहेको सत्तारुढ दलका प्रभावशाली नेताहरुले नै स्वीकार

काठमाडौं  –  व्यवस्थापिका संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा
कार्यक्रम दिशाहीन रहेको सत्तारुढ दलका प्रभावशाली नेताहरुले नै स्वीकार गरेका छन्

एमालेका सचिव शंकर पोख्रेलले रिपोर्टर्स क्लवको साक्षात्कारमा सरकारको नीति तथा
कार्यक्रमले कार्यक्रममा मात्र जोड दिएकोले प्राथमिकता निर्धारित हुन नसक्दा
दिशाहीन बनेको बताए ।

संविधानसभाको निर्वाचनपछि कांग्रेसको सदासयताले लोकतान्त्रिक पद्धतिबाट नीति तथा
कार्यक्रम र बजेट आउनु सकारात्मक भए पनि नीति तथा कार्यक्रममा धेरै कुरा समावेश
नहुँदा यसले मुलुकको दिशा निर्देश गर्न नसकेको उनको ठहर थियो । नेता पोख्रेलले नीति
तथा कार्यक्रम धेरै लामो हुँदा पनि यो अस्पष्ट हुन पुगेको दावी गरे ।

पूर्व सञ्चार मन्त्री पोख्रेलले नीति तथा कार्यक्रममा नेपालको परराष्ट्र नीति
उल्लेख नहुनु अत्यन्तै लापरवाहीपूर्ण काम भएको भन्दै उनले भुटानी शरणार्थी समस्या
समाधानको विषय समावेश नहुनु, अहिलेसम्मका सबै सरकारले निरन्तरता दिएको आफ्नो गाँउ
आफै बनाऊँ जस्ता कार्यक्रम समावेश नहुनु आपत्तिजनक भएको दावी गरे ।

माओवादी सचिव सीपी गजुरेलले पनि सरकारको नीति तथा कार्यक्रम दिशाहीन रहेको बताए
। उनले सार्वजनिक नीजि साझेदारी कार्यक्रम समावेश गरेकोप्रति आपत्ति प्रकट गर्दै यो
कार्यक्रम निजी क्षेत्रलाई पोस्ने खालको मात्रै भएको आरोप लगाए । उनले भने, ‘यो
कार्यक्रममा सरकारको भूमिका हुँदैन । पैसा जति कमाएर निजी क्षेत्रले लैजान्छ ।
प्रदुषण मुलुकले पाउँछ । प्रदुषणमात्रै भित्र्याउने काम प्रति हाम्रो आपत्ति छ
।’