भारतीय जाली नोटका कारोबारी पक्राउ, रसुवा प्रहरीद्वारा अनुसन्धान शुरु

– सुवनी सिंह


  बिरगंज । जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत रसुवाका विद्यार्थीहरुले लहरेपौवा-२ लहरेका चित्रमान डंगोल जाली नोटको कारोबारमा संलग्न रहेको र केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेका युनुश अन्सारीको सहयोगी भई लामो समयदेखि जाली नोटको अवैध कारोबार गरिरहेको आरोप लगाउदै गृह मन्त्रालयमा उजुरी-पत्र दर्ता गरेका थिए । जवाहरलाल नेहरु विश्वविद्यालयमा अध्ययनरत रसुवाका विद्यार्थीहरुले २०६८ असार १० गते गृह मन्त्रालयमा पुगी डंगोलका विरुद्धमा उजुरी-पत्र दर्ता गरेका हुन् । उजुरी-पत्रमा चित्रमान डंगोलले नेपाल र भारतीय बजारमा लामो समयदेखि जाली नोटको अवैध कारोबार गरिरहेको उल्लेख छ । उक्त उजुरी-पत्रमा चित्रमान डंगोलले समारी-५ नुवाकोटका सोममाया तामाङलाई २०६७ पौष २८ गतेदेखि बेपत्ता बनाएकोले तत्काल पक्राउ गरी अनुसन्धानको दायरामा ल्याई कानुनी कारबाही गरिनुपर्ने उल्लेख गरेको छ ।


  विद्यार्थीहरुले दर्ता गरेको उजुरी-पत्रलाई गृह मन्त्रालयले २०६८ असार १५ गते प्रहरी प्रधान कार्यालयमा पठाइएको थियो । प्रहरी महानिरिक्षक सचिवालय स्रोतका अनुसार गृह मन्त्रालयले पठाएको पत्र असार १७ गते बेलुकी प्रहरी प्रधान कार्यालयमा पुगेको थियो र उक्त उजुरी-पत्रलाई प्रहरी प्रधान कार्यालयले गम्भिरतापूर्वक लिई त्यही दिन अनुसन्धान प्रकृयालाई अगाडि बढाएको थियो ।


  यसैबीच अभियुक्त चित्रमान डंगोललाई २०६८ असार २० गते रसुवा प्रहरीले पक्राउ गरेको छ । डंगोललाई रसुवा प्रहरीले पक्राउ गरेको थाहा पाएपछि काठमाडौं र बिरगंजमा रहेका डंगोलको संजालमा रहेका भारतीय जाली नोटका कारोबारीहरुमा ठूलो हलचल मच्चिएको स्रोत जनाउँछ । रसुवा प्रहरीले डंगोललाई पक्राउ गरेको केही समयपछि तराई मूलका केही व्यक्तिहरु जाली नोटको अवैध कारोबारी चित्रमान डंगोललाई खोज्दै चिलिमेस्थित थम्बुचेत बजारमा पुगेका थिए । उनीहरुले विलिभर्स एकेडेमीका शिक्षकद्वय उमेश झा र ज्ञानबहादुर राईलाई भेटी २ घण्टासम्म गोप्य कुराकानी गरेको थाहा हुन आएको छ । स्रोतका अनुसार पहिचान खुल्न नसकेका तराई मूलका व्यक्तिहरुलाई चित्रमान डंगोलका बारेमा झाले नियमितरुपमा जानकारी दिइरहने सल्लाह भएको छ । स्रोतका अनुसार तराई मूलका ती व्यक्तिहरु डंगोलको हत्या गर्ने योजनासहित थम्बुचेत पुगेको बताइन्छ । पहिचान खुल्न नसकेका तराई मूलका व्यक्तिहरु र झाबीच लामो समयदेखि घनिष्ट सम्बन्ध रहेको खुल्न आएको छ । तराई मूलका व्यक्तिहरु थम्बुचेत पुग्नुअगावै प्रहरीले डंगोललाई पक्राउ गरेका कारण डंगोल हत्या हुनबाट जोगिएका छन् ।


  डंगोलले थम्बुचेतमा रहेका प्रहरी र स्थानीय वाईसीएल कार्यकर्ताहरुलाई नियमित नजराना बुझाउने गरेका कारण जाली नोटको अवैध कारोबार र महिला बेपत्ता पारेको घटना प्रहरीले थाहा पाएर पनि प्रहरीहरुले पक्राउ नगरेको थम्बुचेतका बासिन्दाले गुनासो गर्ने गरेको भए पनि रसुवा प्रहरी प्रमुखमा प्रहरी नायब उपरिक्षक अच्युत पुडासैनी पुग्नेबित्तिकै डंगोल पक्राउ परेका हुन् । आफूलाई माओवादी भन्ने र पंचायती  पृष्ठभूमिका केही व्यक्तिहरु डंगोल पक्राउ परेको थाहा पाउनेबित्तिकै उनलाई छुटाउन काठमाडौंतिर हानिएका छन् । उनीहरु पनि भारतीय जाली नोटको कारोबारमा संलग्न हुने गरेको स्रोतले बताएको छ ।


  स्थानीय बासिन्दाका अनुसार रसुवाको कतिपय ५ कक्षासम्म पढाई हुने सामुदायिक विद्यालयहरुमा ३ जना मात्र शिक्षक हुने गरेकोमा कृष्चीयनहरुद्वारा संचालित डंगोलले पढाउने गरेको कक्षा ३ सम्म पढाई हुने विलिभर्स एकेडेमीमा ८ जना शिक्षकहरु रहेका छन् । उनीहरुको गतिविधि पनि शंकास्पद रहेको छ । विलिभर्स एकेडेमीका संस्थापक बालकृष्ण श्रेष्ठ हाल फिलिपिन्समा पुगेका छन् । उनी धुन्चेस्थित विलिभर्स चर्चका पास्टर रहेको र त्यही चर्चका एक महिलासँग नियमितरुपमा अवैध सम्बन्ध रहेको रहस्य खुलेपछि चर्चलाई थाहै नदिई परिवारसहित फिलिपिन्स पुगेका हुन् ।  


 जाली नोट र महिला बेपत्ता बनाएकोले तत्काल पक्राउ गरी अनुसन्धानको दायरामा ल्याई कारवाही गरिनु पर्ने माग गर्दै गृह मन्त्रालयमा दायर गरेको उजुरीपत्रमा उल्लेख छ । उपरोक्त सम्वन्धमा भारतिय नक्कली नोटको कारोवारमा संलग्न रहेको अभियोगमा केन्द्रीय कारागारमा वन्दी जिवन विताईरहेका युनिस अन्सारीको सहयोगी वताउने चित्रमान डंगोल कृश्चियन धर्मको आडमा हाल रसुवा जिल्लाको चिलिमे स्थित थम्वुचेत वजारमा वसी नक्कली भारतिय नोटको कारोवार गरिरहेका छन् । निज चित्रमान डंगोलको उक्त भारतिय जाली नोटको कारोवार निजको सम्पर्कमा रहेका अन्य जाली नोटका कारोवारी व्यक्तिहरु र निजहरुको संजालको वारेमा भारतिय संचार माध्यमहरु र काठमाण्डौबाट प्रकाशन हुने वुधवार साप्ताहिक र घटनार विचार साप्ताहिकमा २०६८।२।२५ गते वुधवारका दिन, रोडम्याप साप्ताहिकमा २०६८ आषाढ २ गते विहिवारका दिन र काठमाण्डौबाट प्रकाशित हुने मधेशवाणी साप्ताहिक र विरगन्जबाट प्रकाशित हुने व्रम्हशास्त्र दैनिकमा समेत समाचार प्रकाशित भईसकेको छ । यसै निवेदनका साथ उक्त पत्रिकाहरुमा प्रकाशित पत्रिकाको कटिङ्ग समेत समावेश गरेको छु । निज चित्रमान डंगोलले २०६७ पौष २८ गते लिएर हिडेकी समारी ५ नुवाकोटको सोममाया तामाङ हालसम्म वेपत्ता छन् । थाहा भए अनुसार डंगोलले निज महिलालाई वुटवल र विरगंजसम्म पुर्‍याएको थाहा हुन आएको छ । हाल चित्रमान डंगोल रसुवा जिल्लाको चिलिमे स्थित थम्वुचेत वजारमा रहेको कृश्चियन धर्मावलम्वीहरुद्धारा संचालित कक्षा ३ सम्म पढाई हुने विलिभर्स एकेडेमीमा पढाई रहेका छन् र ३ कक्षा सम्म पढाई हुने उक्त विद्यालयका कलिला विद्यार्थीहरुलाई कृश्चियन धर्म अनुसार गर्नु पर्ने प्रथना जवरजस्ती गर्न लगाई रहेका छन् । कलिला विद्यार्थीहरुलाई त्यसरी प्रार्थना गर्न लगाउदा ति विद्यार्थीहरु वाल मष्तिष्कमा नराम्रो असर पर्न गएको छ ।

 

निज चित्रमान डंगोलले गर्ने गरेको अवैध जाली नोटको कारोवार, महिला वेपत्ता वनाएको घट्ना र जवरजस्ती रुपमा धर्म परिवर्तन गर्न लगाई रहेको र पत्र-पत्रिकामा प्रकाशित समाचारको आधार प्रमाणबाट र राज्यको कानूनले गैर कानूनी कार्य गर्न कसैलाई छुट नदिएको र उक्त भारतिय जाली नोटको विस्तार वा पकड नेपाली वजारमा पर्न गएमा नेपाली मुद्रमा समेत ठूलो नकारात्मक असर पर्ने हुदा उक्त जाली नोटको कारोवारलाई रोक्न निज अभियुक्त चित्रमान डंगोललाई तत्काल पक्राउ गरी अनुसन्धानका दायरामा ल्याई कानूनी कारवाही गरी पाऊ उजुरी पत्रमा उल्लेख छ ।