तारा एयरको ट्विनअटर विमान दुर्घटना प्रतिवेदन: चालकलाई गलत सूचना दिँदा विमान दुर्घटना

काठमाडौं  – पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री खड्गबहादुर विश्वकर्मा
समक्ष तारा एयरको ट्विनअटर विमान दुर्घटना भएको सम्बन्धमा गठित दुर्घटना जाँच
आयोगले आज आफ्नो प्रतिवेदन बुझाएको छ ।

काठमाडौंको क्षेत्रीय नियन्त्रण कक्षबाट ट्राफिक सूचना विमान चालकलाई गलत उपलब्ध
गराउनु र बिग्रँदो मौसमी अवस्था र उडानमार्गको भौगोलिक अवस्थितिलाई ध्यानमा राखी
विमान तल झार्ने स्वीकृत नदिई विमान दस हजार पाँच सय फिटको उचाइमा लैजान नसक्नु
दुर्घटनाको प्रमुख कारण औंल्याइएको छ ।

विसं. २०६७ मङ्सिर २९ गते लामिडाँडाबाट काठमाडौं फर्कने क्रममा ओखलढुङ्गाको करिब
नौ हजार फिटको मानेडाँडामा ठोक्किएर सो विमान दुर्घटना हुँदा चालकदलका तीनसहित २२
जनाको मृत्यु भएको थियो ।

सो विमानमा नेपाली भएको परिचय दिँदै १८ जना भुटानी र एकजना तिब्बती नागरिक
यात्रुका रुपमा रहेका थिए । काठमाडौँका हवाई ट्राफिक नियन्त्रकले विमानका चालकलाई
रुम्जाटारबाट लुक्ला पुगिसकेको हेलिकप्टरबाट स्थितिलाई काठमाडौँबाट लुक्लाका लागि
उडेको र सो समयमा रामेछापमा पुगेको भनी अनुपयुक्त ट्राफिक सूचक दिएको प्रतिवेदनमा
उल्लेख छ ।

त्यसैगरी, विमानका प्रमुख चालकले विमानको उडान नियन्त्रण आफ्नो जिम्मा लिइरहेका
आफ्ना सहचालकलाई बिग्रँदो मौसमी अवस्था र उडानमार्गको भौगोलिक स्थितिलाई ध्यान
नदिएको साथै दस हजार पाँच सय फिट चढिरहेको विमानको उचाइलाई आठ हजार पाँच सय फिटमा
झार्दा विमानको देब्रे पखेटाले मानेडाँडाको चट्टानमा ठोक्किएको जनाइएको छ ।

प्रतिवेदनमा फेरि पनि यस्ता दुर्घटना हुन नदिन सम्बन्धित निकायलाई विभिन्न
सुरक्षात्मक सुझावहरू दिइएको छ ।

प्रतिवेदन ग्रहण गर्दै मन्त्री विश्वकर्माले नेपालको हवाई यातायातलाई कसरी
सुरक्षित बनाउन सकिन्छ त्यसतर्फ सबैले सचेत भई यस्ता घटना नदोहोरिने वातावरण
सिर्जना गर्न आग्रह गरे । उनले प्रतिवेदनका सुझावलाई गम्भीरताका साथ लिई
कार्यान्वयनमा जोड दिइने उल्लेख गरे ।

मन्त्रालयका सचिव डा गणेशराज जोशीले नागरिक उड्ड्यनका पूर्व मौसमको जानकारी
प्राप्त गर्न उपकरणहरू राखिने बताए ।

आयोगका अध्यक्ष एवम् प्राधिकरणका पूर्वमहानिर्देशक मेदिनीप्रसाद शर्माले
दुर्घटनासँग सम्बन्धित सबैसँग सोधपुछ गरी सत्यतथ्य पत्ता लगाउन प्रयास गरिएको बताए

आयोगका सदस्यसचिव एवम् मन्त्रालयका सहसचिव सुरेश आचार्यले विदेशी यात्रु चढेकै
कारण तौल बढेको होइन भन्दै नेपालीको परिचयमा भुटानीलाई किन विमानमा लगियो यसबारेमा
मन्त्रालयले छानबिन गरिरहेको र प्रतिवेदन केही दिनमै आउने बताए ।

रासस