काठमाडौं – मधेसी जनअधिकार फोरम नेपाल त्यागेर छ केन्द्रीय सदस्य नवगठित फोरम (गणतान्त्रिक) मा प्रवेश गरेका छन्।
जेठ पहिलो साता सहअध्यक्ष जेपी गुप्ताले फोरमबाट विभाजित भई बनाएको पार्टीमा रौतहटका अब्दुल जब्बार, गणेश यादव, मोहम्मद कलिमुल्लाह, सिरहाका मोहम्मद खालिद सिद्दिकी, बाँकेका सीताराम अग्रवाल र बाराका उमेशलाल दास आएका हुन्। यादवले पार्टी सिद्धान्त, नीति, भावना, एकतासहित संगठनको नेतृत्व गर्न नसकेको र मधेस मुद्दाप्रति इमान्दार नरहेको दल त्याग गर्नेको आरोप छ।
यो विभाजनपछि उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादव नेतृत्वको फोरम नेपालको २७ सदस्यीय केन्द्रीय समितिबाट ११ नया” पार्टीमा पुगेका छन्। ‘मधेस आन्दोलनमा सक्रिय पुराना साथी र मुस्लिम समुदायका वरिष्ठ साथी हामीपट्टि हुनुभएको छ,’ पार्टी संसदीय दलका उपनेता नन्दनकुमार दत्तले भने।
पार्टी विभाजनका बेला २५ मध्ये १३ सभासद् पार्टी त्याग गरी गुप्ता नेतृत्वको दलमा प्रवेश गरेका थिए। निर्वाचन आयोगले दल दर्ता सम्बन्धी विषय टुंगो लगाउने बित्तिकै केन्द्रीय समिति विस्तार गर्ने तयारी भइरहेको दत्तले बताए।



