प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले वितरणमा जोड दिने खालको बजेट ल्याउने तयारी गरेको भन्दै सरकारको विरोध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले वितरणमा जोड दिने
खालको बजेट ल्याउने तयारी गरेको भन्दै सरकारको विरोध गरेको छ।

सस्तो लोकप्रियताको लागि कनिका सरी पैसा छर्ने कार्यक्रम राखेर अन्तरिम
प्रकृतिको वर्तमान सरकारले भावी सरकारहरुमाथि अनावश्यक आर्थिक भार थप्ने चिन्ता
बढेको उक्त पार्टीका नेताहरुले बताएका छन्।

बजेटबारे कुराकानी गर्न प्रधानमन्त्री झलनाथ खनालले आफ्नै निवासमा सोमबार डाकेको
बैठकमा नेपाली कांग्रेसका नेताहरुले सत्ताधारी दुई वामपन्थी पार्टीहरु एमाले र
माओवादी मिलेर बनाउन आँटेको बजेटप्रति थुप्रै शंका व्यक्त गरे।

बजेटलाई लिएर तराई केन्द्रित दलहरुबाट तीव्र असन्तुष्टि खेपेको भोलिपल्ट
सरकारलाई प्रमुख प्रतिपक्षीले पनि छाडेन।

तराईका दलहरुले जस्तो सदनै अवरोध गर्ने धम्की त उनीहरुले दिएनन्, तर खासगरी
आर्थिक अनुशासनको मामिलामा गम्भीर बन्न उनीहरुले आग्रह गरे।

छलफलमा संलग्न राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षसमेत रहेका कांग्रेस नेता
डा नारायण खडकाका अनुसार आयुको ठेगान नभएको सरकारले भावी सरकारलाई अनावश्यक भार
पार्ने कार्यक्रम ल्याउन मिल्दैन।