सरकारले विभिन्न मन्त्रालय र निकायमा रिक्त पाँच सचिव पदपूर्ति गर्न बढुवा प्रक्रिया सुरु

काठमाडौं  –  विभिन्न मन्त्रालय र निकायमा रिक्त पाँच सचिव
पदपूर्ति गर्न बढुवा प्रक्रिया सरकारले सुरु गरेको छ । यसका लागि सिफारिस गर्न बुधबार बढुवा
समितिको बैठक बोलाइएको छ ।

सामान्य प्रशासन मन्त्रालयले लोकसेवा आयोगलाई पत्र लेखी हाल पाँच सचिव पद रिक्त
रहेको उल्लेख गर्दै बढुवा समितिको बैठक गर्न अध्यक्ष, सदस्य र विज्ञ तोकिदिन आग्रह
गरेको हो ।

हाल वन मन्त्रालय, उपराष्ट्रपतिको कार्यालय, तीनवटा क्षेत्रीय प्रशासन कार्यालय
पूर्वाञ्चल, मध्यमाञ्चल र मध्यपश्चिममा विशिष्ट श्रेणीका अधिकारी (सचिव) पद रिक्त
छन् ।

बढुवा समितिमा लोकसेवाका अध्यक्ष या अध्यक्षले तोकेको सदस्य संयोजक, अर्का सदस्य
र विज्ञ तथा मुख्यसचिव माधव घिमिरे सदस्य र सामान्य प्रशासन सचिव प्रतापकुमार पाठक
सदस्यसचिव छन् ।

लोकसेवाकी कार्यवाहक अध्यक्ष कोयोदेवी यमीले बढुवा समितिको संयोजकमा कृष्ण
पोखरेल तथा सदस्यमा टीकादत्त निरौलालाई तोकेकी छन् । विज्ञ तोक्न बाँकी रहेको
स्रोतले जनायो ।