अनिश्चितकालिन यातायात बन्द आहृवानले सुदुर पश्चिमका सम्पूर्ण सेवा ठप्प, यात्रुहरु अलपत्र

– चित्रांग थापा

महेन्द्रनगर  – डडेल्धुरा जिल्ला प्रशासनले बिहीबार दर्ता गरेको नयाँ
यातायात समिति तत्काल खारेज गर्नु पर्ने प्रमुख माग राखेर सुदुर पश्चिमका यातायात
व्यवसायीले सोमवारदेखि सम्पूर्ण यातायात सेवा ठप्प गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्टि्य महासंघको समेत समर्थनमा सुदुर पश्चिम क्षेत्रिय
यातायात समितिले अनिश्चितकालिन यातायात बन्द आहृवान गरेको हो ।

सोमबार बिहानैदेखि सुदुर पश्चिमका तराई जिल्ला कञ्चनपुर र कैलालीबाट पहाडी
जिल्ला तथा नेपालगञ्ज र पूर्व नेपाल तर्फ चल्ने सम्पूर्ण यातायात सेवा बन्द रहेकोछ

पहाडी क्षेत्रका दार्चुला, बैतडी, बझाङ, बाजुरा, डोटी, अछाम र डडेल्धुरामा
यातायात सेवा ठप्प रहेको सुदुर पश्चिम क्षेत्रिय यातायात व्यवसायी समितिका संयोजक
होमबहादुर कुँवरले बताए ।

‘डडेल्धुरा जिल्ला प्रशासनले जिल्लामा उग्रतारा यातायात समिति रहेकै अवस्थामा
अपारदर्शी ढंगले व्यवसायीहरुलाइ झुक्याएर गरेको नयाँ समितिको दर्ता खारेज नगरेसम्म
यातायात सेवा सुचारु नहुने’ संयोजक कुँवरले बताए ।

नयाँ समितिको दर्ता खारेजीसँगै दर्ता प्रकृयाको बिरोध गर्ने व्यवसायीहरुलाई
धरपकड र यातायात मजदुरहरुलाई प्रहरीले कुटपिट गरेर स्थिति तनावपूर्ण बनाएको बिरोधमा
बाध्य भएर आन्दोलनमा उत्रनु परेको उनले बताए । यातायात सेवा ठप्प भएपछि सुदुर
पश्चिमका पहाडी र तराई जिल्लामा यात्रुहरु गन्तव्यमा जान नपाई अलपत्र परेका छन् ।

जिल्ला प्रशासनले आबश्यकता भन्दा बढि समिति दर्ता गरेर व्यवसायीहरुबीच अस्वस्थ
प्रतिस्पर्धा र फुट उत्पन्न गर्न खोजेको महाकाली यातायात समितिका उपाध्यक्ष वावुराम
शर्माले बताए ।

‘अर्को समितिसँग छलफल नै नगरि जिल्ला प्रशासन कार्यालयको मुलगेट बन्द गरेर नयाँ
समिति दर्ता गरियो’ उनले भने । व्यवसायीहरु बाध्य भएर सेवा ठप्प गरि आन्दोलनमा
उत्रनु परेको उनले बताए ।

सुदुर पश्चिम यातायात समितिका अध्यक्ष टेकराज जोशीले क्षेत्रिय समितिको
निर्णयप्रति ऐक्यबध्दता जनाउँदै कैलालीमा पनि बिहीबारदेखि अनिश्चितकालिन यातायात
सेवा ठप्प गरिएको बताए ।

यसैबिच डडेल्धुरामा शान्ति समितिको पहलमा दुवै यातायात समितिका पदाधिकारीहरु बिच
छलफल चलिरहेको कुवरले बताए । उनले केन्द्रमा पनि नेपाल यातायात व्यवसायी महासंघका
पदाधिकारी र गृह मन्त्रालयका अधिकारीहरुबिच समेत छलफल भइरहेको उनले जानकारी दिए