काठमाडौ – एकीकृत नेकपा माओवादी उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराई पक्षधर केन्द्रीय सदस्यहरुको
संयुक्त भेला ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा भएको छ । बुधबारबाट बस्ने
केन्द्रीय समितिको बैठकमा संयुक्त रुपमा कसरी प्रस्तुत हुने विषयमा भेलामा छलफल
भएको जनाइएको छ ।
भेलामा उपाध्यक्षद्वय वैद्य र भट्टराई सहित दुवै पक्षका गरी ५०/६० जना नेताहरुको
सहभागिता रहेको थियो । अध्यक्ष दाहाल पक्षधर मानिएका महासचिव रामबहादुर थापा पनि
उक्त भेलामा उपस्थित थिए । थापाको उपस्थितिलाई अर्थपूर्ण मानिएको छ ।
भट्टराई पक्षधर पोलिट ब्यूरो सदस्य राम कार्कीले पार्टीलाई कसरी व्यवस्थित
बनाउने तथा केन्द्रीय समितिको बैठकमा कसरी प्रस्तुत हुने विषयमा भेलामा छलफल भएको
बताए । वैद्यपक्षसंगको छलफल सकिएपछि भट्टराई अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठको
झम्सीखेलस्थित निवास पुगेका थिए । भट्टराईले श्रेष्ठसंग करिब एक घण्टा छलफल गरेका
थिए । पार्टी भित्रको कार्य विभाजनमा सहयोग गर्न भट्टराईले श्रेष्ठलाई आग्रह गरेको
बुझिएको छ । त्यस्तै, महासचिव थापाले पनि श्रेष्ठसंग छलफल गरेका छन् ।



