दोलखा । दोलखाको लामाबगर नाका हुँदै नेपाल प्रवेश गरेका ६ तिब्बती नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले लामीडाँडा ६ सिंगटी बजारबाट उनीहरुलाई आज विहान नियन्त्रणमा लिएको हो । चीनसँग सीमा जोडिएको लामाबगर नाकाबाट नेपाल प्रवेश गरेका तिब्बतीहरु तीनओटा भन्दा बढी प्रहरी चौकी छल्दै सिंगटी आइपुगेका हुन् । पक्राउ पर्नेमा २० देखि ३० वर्ष उमेर समुहका पुरुष रहेका छन् ।
पक्राउ परेका तिब्बतीहरुलाई सदरमुकाम चरिकोटस्थित जिल्ला प्रहरी कार्यालय ल्याइएको छ । पक्राउ परेकाहरुलाई प्रक्रिया पुराएर अध्यागमन विभाग बुझाईने दोलखाका प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले बताए । सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएपछि तिब्बती शरणार्थीहरु नेपाल प्रवेश गर्ने क्रम लामो समयसम्म रोकिएको थियो । यद्यपी उनीहरु पहिले नै नेपाल प्रवेश गरी कुनै नेपालीको शरण लिएर बसेको हुनसक्ने आशंका प्रहरीले गरेको छ ।
तिब्बतीहरुसँग आवश्यक बयानपछि प्रहरी प्रमुख जोशीले यस विषयमा अनुसन्धान गरिने बताए ।



