– ऋषि पौड्याल
चौतारा – चीन सरकारले सुरक्षाका कारण देखाउँदै विदेशीलाई तातोपानी नाका
भएर आफ्नो मुलुक आवतजावत गर्न १ महिनाका लागि रोक लगाएको छ । चिनियाँ कम्युनिस्ट
पार्टीको वाषिर्कोत्सवका अवसरमा प्रत्येक वर्ष नाका सुरक्षा कडाइ गर्दै आएकोमा उसले
यसपटक भने उपराष्ट्रपतिको तिब्बत भ्रमण हुने भन्दै पर्यटक आवतजावतमा समेत रोक
लगाएको हो ।
अध्यागमन कार्यालय तातोपानीका प्रमुख विजय पौडेलका अनुसार चिनियाँ पक्षले
नेपाललाई समेत सुरक्षामा सहयोग पुर्याउन आग्रह गरेको छ । गत ११ गते खासामा भएको
सीमा बैठकमा चिनियाँ अधिकारीले नेपाललाई सुरक्षामा बढी चासो राखिदिन भनेको थियो ।
चीनले आगामी जुलाई २५ अर्थात् साउन ९ गतेसम्म आवतजावत ठप्प हुने बताएको छ ।
उपराष्ट्रपति सि जिङपिङले तिब्बतको ल्हासालगायत विभिन्न भाग भ्रमण गर्ने कार्यक्रम
रहेको स्रोतले बतायो । उनलाई चिनियाँ कंाग्रेसले २००८ मा उपराष्ट्रपति बनाएको थियो
। चीनले संविधान संशोधन १९८२ बाट उपराष्ट्रपतिको व्यवस्था गरेको हो । ‘चीनले तिब्बत
कब्जा गरेको समय मार्च १० देखि १४ को अवधिमा पनि यति कडाइ थिएन,’ सीमा स्रोतले
भन्यो, ‘अहिले उनीहरू बढी संवेदनशील देखिन्छन् ।’ चिनियाँ पक्षलाई उद्धृत गर्दै
सीमाका अधिकारीले दिएको जानकारी अनुसार आफ्नो मुलुकका तिब्बती मूलका नागरिकलाई बढी
निगरानी गरिएको छ । तातोपानीको मितेरी पुलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ ।
अध्यागमनको तथ्यांकअनुसार यो अवधिमा विगतमा दैनिक ४ सय पर्यटक आवतजावत गर्ने
गर्थे । चिनियाँमूलका नागरिकलाई पनि विशेष अवस्थाबाहेक देशबाहिर जान नदिने रणनीति
बनाइएको छ । ‘नेपालको सीमा हेर्ने मुख्य कार्यालय ल्हासामा रहेकाले यो भ्रमणलाई
सीमा सुरक्षामा जोडिएको छ,’ स्रोतले भन्यो ।
आइतबार बेजिङका इन्टिलिजेन्ट ब्युरो र ल्हासा सेक्युरिटी ब्युरोको दोस्रो तहका
सुरक्षा अधिकारीले नेपालको सीमा क्षेत्रका अधिकारीसँग भेटेका थिए । उनीहरूले
सुरक्षा कडाइ गरिदिन आग्रह गरेको अध्यागमन प्रमुख पौडेलले बताए । नेपालीका लागि
दैनिक खासा आवतजावत गर्न भने रोक लगाइएको छैन । स्रोतका अनुसार बेजिङ र ल्हासाका
सुरक्षा अधिकारी सातादेखि खासा बस्दै आएका छन् ।



