परराष्ट्रमन्त्री उपेन्द्र यादव व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिको बैठकमा अनुपस्थित

काठमाडौ  –  परराष्ट्रमन्त्री उपेन्द्र यादवले संसदको मानहानी गरेको व्यवस्थापिका संसदको संसदीय सुनुवाई समितिले ठहर गरेको छ । परराष्ट्रमन्त्री यादव बुधबार
समितिको बैठकमा बोलाइएपनि बिना सूचना अनुपस्थित रहेकाले
समितिले त्यस्तो ठहर गरेको हो ।

समितिले राजदूतलाई फिर्ता बोलाउने र नयाँ पठाउने विषयमा परराष्ट्रबाट भएको
निर्णयका विषयमा छलफल गर्न मन्त्रीलाई बोलाएको थियो । दुई घण्टा कुर्दा पनि समिति
बैठकमा मन्त्री नआएपछि बैठक स्थगित गरिएको थियो । साउन १ गते बिहान ८ बजेलाई फेरि
बैठक बोलाइएको छ । परराष्ट्र सचिव मदन भट्टराई बैठकमा पुगेका थिए ।

बंगलादेशका राजदूत प्रदीप खतिवडाको चार महिना अवधि बाँकी छँदै त्यहाँ हरिकुमार
श्रेष्ठलाई नयाँ राजदूतका रुपमा प्रस्ताव गरेको तथा राजदूत खतिवडाले पठाएको वैदिशक
भत्ता कर परराष्ट्रले किन स्विकार नगरेको विषयमा स्पष्टिकरण लिन समितिले मन्त्रीलाई
बोलाएको थियो ।