१०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा

चौतारा – सिन्धुपाल्चोक जिल्लाको गाती गाविसमा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। देशमा ऊर्जा सङ्कट व्याप्त रहेको अवस्थामा चिलिमे जलविद्युत कम्पनी लिमिटेडद्वारा रु.१४ अर्बको लागतमा सन् २०१६ सम्म पूरा गर्ने लक्ष्यका साथ आगामी वर्षदेखि निर्माण कार्य सुरु गरिन लागेको हो।

सो आयोजनाका लागि कर्मचारी सञ्चयकोषले रु. ६ अर्ब २१ करोड ऋण लगानी गर्न समझदारीपत्रमा हस्ताक्षर गरेको छ। बाँकी रकम चिलिमे, नेपाल विद्युत् प्राधिकरण, जिविस सिन्धुपाल्चोक तथा सर्वसाधारणसमेतको लगानी रहने बताइएको छ।

मार्मिङ गाविसस्थित चाकुखोला र भोटेकोशीको सङ्गमस्थलबाट करिव एक सय मिटर तल बाँध बनाई भोटेकोशीको पानीलाई ७.२ किमी सुरुङ मार्गद्वारा जम्बुस्थित विद्युत् गृहमा लगिनेछ।

विद्युत् आयोजना निर्माण गर्दा जलयात्रालाई बाधा पुग्ने भन्दै केही पर्यटन व्यवसायीहरूको विरोधप्रति लक्षित गर्दै उक्त आयोजना निर्माण गरेपछि जलयात्रालाई अझै राम्रो बनाउने लक्ष्य रहेको प्रवन्ध सञ्चालक घिसिङले बताए।

आयोजनाका लागि प्रवेश मार्ग बनाउनु नपर्ने हुँदा लागतमा सस्तो पर्ने र काठमाडौंदेखि एक सय किमीको दूरीमा रहेकाले नजिक पनि पर्दछ।

जिल्लाले स्थानीय विकासका लागि विद्युत् वापत दुई करोड राजस्व प्राप्त गर्दै आएकोमा सो आयोजना सम्पन्न भएपछि वार्षिक रु. पाँच करोड राजस्व प्राप्त गरी स्थानीय विकासलाई थप टेवा पुग्ने बताइएको छ।
– रासस