अविरल बर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाब फेरि ह्वात्तै बढ्यो

विराटनगर  – पूर्वी पहाडी जिल्लामा केही दिनयता परेको अविरल बर्षाका कारण
सप्तकोसी नदीमा पानीको बहाब फेरि ह्वात्तै बढेको छ । गत सातादेखि घट्दै गएको पानीको
बहाव एक्कासि बढेपछि कोसी ब्यारेजका ५६ मध्ये २२ वटा ढोका खुला गरी पानीलाई निकास
दिइएको छ ।

शुक्रबार बिहान मापन गरिएअनुसार कोसी ब्यारेज भएर कोसीमा पानीको बहाब एक लाख ६१
हजार ८ सय ४५ क्युसेक रहेको त्यहाँ रहेको प्रहरी चौकीले जनाएको छ । यो यसवर्ष
हालसम्मको सर्वाधिक बहाव हो ।

दुई साताअघि एकलाख ५९ हजार क्युसेक बहाव थियो । पानी बढेपछि निकासका लागि २२ वटा
ढोका खुला गरिएको हो । कोसी ब्यारेजको पूर्वपट्ट िसुनसरीतिर सतर्कतासूचकसंकेत रातो
झण्डा राखिएको छ भने रातो बत्ती पनि बालिएको छ । ब्यारेजमा सवारीसाधन आउजाउको
क्रमलाई एकतर्फी पारिएको छ ।

यसपालि बेलैमा मनसुन सुरु भएकाले असार दोस्रो सातामै कोसीमा पानीको बहाव डेढ लाख
क्युसेक नाघेको थियो । त्यसयता पानी पर्ने क्रम केही घटेपछि कोसीमा पानीको बहाव पनि
घटेको थियो ।

पानीको बहाव घटबढ हुने क्रमसँगै कोसीको पूर्वी तटबन्ध र त्यसलाई पानीको
शक्तिशाली बहावबाट जोगाउने संरचना स्परहरुमा क्षति पुग्ने गरेको छ ।