सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चबीच चारबुँदे सहमति

 काठमाडौ । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चबीच चारबुँदे सहमति भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा जारी बैठकमा चारबुँदे सहमतिको ड्राफ्टमाथि छलफल भइरहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका मुख्य सचेतक रामजनम चौधरीले जानकारी दिए ।

सरकारले मधेशी मोर्चाले उठाएका माग संवोधन गर्ने प्रतिबद्धता जनाएपछि मोर्चा बजेट ल्याउन दिन सकारात्मक बनेको हो । मोर्चाले हुलाकी मार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग, मधेस आन्दोलनका सहिदहरुको नाममा विद्यालय खेल्नुपर्ने र त्यस्ता विद्यालयलाई ५० लाख रुपैयाँ दिनपर्ने माग गरेको थियो ।

त्यस्तै किसानले लिएको एक लाख रुपैयाँसम्मको ऋण तथा ब्याज मिनाहा गर्नुपर्ने र त्यसमाथिको ऋण तथा ब्याजमा सहुलियतपूर्ण व्यवस्था अपनाइनुपर्ने, सीमा क्षेत्रमा सय रुपैयाँ सम्मका सामान ल्याउदा भन्सार तिर्नु पर्ने व्यवस्था खारेज गर्नु पर्ने, राजर्षि जनक र नेपालगञ्ज तथा वीरगञ्जमा विश्वविद्यालय खोल्न बजेट विनियोजन गर्नु पर्ने माग अघि सारेको थियो । बजेटमा नपरेका माग पछि समावेश गर्ने सरकारको लिखित प्रतिबद्धतामा मोर्चा सरकारात्मक बनेको हो ।