कांग्रेस शेरबहादुर देउवाले संसदीय दलको नेतामा आफूलाई अघि सार्न सभापति सुशील कोइरालासँग औपचारिक रूपमै आग्रह गर्ने

काठमाडौं  – संसदीय दलको नेतामा
आफूलाई अघि सार्न कांग्रेस नेता शेरबहादुर देउवाले सभापति सुशील कोइरालासँग औपचारिक रूपमै आग्रह गर्ने भएका छन् ।
दलको नेता परिवर्तनका लागि नैतिक दबाव सिर्जना गर्न हस्ताक्षर अभियान चलाएका
देउवाले शनिबार भेटेर त्यस्तो आग्रह गर्ने भनिए पनि कोइराला अस्वस्थ भएकाले हुन
सकेन ।

झन्डै एक महिनापछि शुक्रबार स्वदेश फर्केका कोइराला धपेडीका कारण शनिबार
बिहानदेखि अस्वस्थ भई घरमै आराम गरिरहेका छन् । एकाएक रुघा, खोकी र ज्वरो देखिएपछि
बिहान महाराजगन्जस्थित निवासमै चिकित्सकहरूले उनको स्वास्थ्य परीक्षण गरेका थिए ।
चिकित्सकहरूको सुझावअनुसार सोमबारसम्म भेटघाट बन्द गरिएको उनका सहयोगीहरूले बताए ।

देउवाले शनिबार कोइरालालाई भेट्ने योजना बनाएका थिए । कोइरालालाई भेटेर सहमतिकै
आधारमा अघि बढ्न देउवालाई केही नेताहरूले सुझाव दिएपछि दलका नेता रामचन्द्र
पौडेलविरुद्ध जुटाइएको हस्ताक्षर केही दिन थाँती राख्ने भएका छन । ‘देउवामा
सभापतिले सहयोग गर्ने पूर्ण विश्वास छ,’ देउवानिकट एक केन्द्रीय सदस्यले भने,
‘त्यसैले पनि उहाँ पहिला सुशीलजी र पौडेलजी सँगसँगै बसेर सहमतिमै कुरा मिलाउने भएन
भने मात्रै बहुमत सदस्यहरूको हस्ताक्षर देखाएर राजिनामाका लागि नैतिक दबाब सिर्जना
गर्ने योजना छ ।’ देउवा समूहले आफ्नो पक्षमा ६० सभासद हुने दाबी गरेका छन् ।

पौडेलले भने आफू दलको नेताबाट राजीनामा नदिने बरु अविश्वासको प्रस्ताव सामान
गरेर अघि बढ्ने बताएका छन् । आफूनिकट सदस्यहरूसँग उनले यस्तो धारणा राख्दै
सभासदहरूसँगको भेटघाट बढाएका छन् । स्रोतअनुसार पौडेलले शनिबार कोइरालासँग कुराकानी
पनि गरेका छन् ।

कोइरालाले भने यो विवादमा मौन छन् । शुक्रबार विमानस्थलमा सञ्चारकर्मीमाझ
हस्ताक्षर अभियानप्रति अनभिज्ञता प्रकट गर्दै उनले सहमतिबाट नै अघि बढ्ने बताएका
थिए । संस्थापन पक्षले कांग्रेसले सरकारको नेतृत्व पाउने सुनिश्चित नहुँदै संसदीय
दलको नेता परिवर्तन गर्न नहुने बताउँदै आएको छ ।

संसदीय दलका प्रवक्ता नवीन्द्रराज जोशीले कांग्रेसले नेतृत्व पाउने सुनिश्चित
नभएको अवस्थामा हस्ताक्षर गरेर विवाद निकाल्न नहुने बताए । ‘अहिले जुन अभियान सुरु
भएको छ, यो बेमौसमको बाजा हो, यतिबेला आम कार्यकर्ता कांग्रेस एकजुट भएको हेर्न
चाहन्छन्’ जोशीले भने, ‘अहिले सत्ताका लागि विवाद गर्ने समय होइन । कांग्रेसको
सम्पूर्ण ध्यान शान्ति प्रक्रिया र संविधान निर्माणमा जानुपर्छ ।’